हस्ताकलामै जीवन लेख्ने मछिन्द्र

न्भेष्टाेपेपर ।  मंसिर २६ २०७९

बागलुङ ।   भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले सङ्कटमा छन् । जसका कारण मौलिक पहिचान नै गुम्ने खतरा बढाएको छ । एक दशक अगाडिसम्म देखिने मौलिक संस्कृति अहिले निकै कम भेटिन्छन् । सूचना, प्रविधिको विकासले हरेक क्षेत्र डिजिटलमय बनेको छ । सहरदेखि गाउँसम्मै प्रविधिको भरपुर प्रयोग भएको छ । 

प्रविधिको प्रयोगले जीवन र दैनिकीलाई सहज र सरल त बनाएको छ नै, त्यससँगै यसले हाम्रा कैयन मौलिकता र पृथक् विशेषता बोकेका परम्परागत कला, संस्कृति, व्यवसायहरुलाई धरापमा पार्ने खतरा पनि उत्तिकै छ ।

अहिले हरेक व्यक्तिले आधुनिक प्रविधिको प्रयोग गरेर दैनिकी, कामकाज, व्यापार व्यवसायलाई सहज बनाउने गरेका छन् । तर बागलुङ बजारमै एक दुर्लभ पात्र छन्, जसले आधुनिक प्रविधि, विकासलाई नपछ्याएरै तीन दशक अघिदेखि आफ्नै मौलिक कलासहितको व्यवसायलाई नै निरन्तरता दिएर फरक पहिचान कायम गरेका छन् । 

ती पात्र हुनुहुन्छ मछिन्द्रप्रसाद शाक्य । लेखन कलाकारितामा उहाँको पृथक् रुपमा स्थापित परिचय चाहिँ ‘रन्तल आर्ट’ । शाक्यले बागलुङ बजारमा ३१ वर्षदेखि चित्र कोर्ने ब्यानर, बोर्ड लेखेरै जीवनयापन गरिरहनुभएको छ ।

सानैदेखि चित्र कोर्ने, पेन्टिङ गर्ने कार्यमा रुचि राख्नुहुने शाक्यले अन्ततः कलालाई आफ्नो व्यवसायको रुपमा अघि बढाउनुभयो । बाबा पदमप्रसाद शाक्यबाट चित्र कोर्न सिक्नुभएका शाक्यले अहिलेसम्म अनगन्ती लेखन र तस्बिरहरु कोरिसक्नुभयो, त्यसको कुनै लेखाजोखा छैन । 

शाक्यले २०४५ सालमा शिक्षण पेसा पनि अँगाल्नुभयो । शिक्षण पेसाले पनि उहाँलाई सन्तुष्टि मिलेन । बागलुङको मालिका माविमा दुई वर्ष शिक्षण पेसा गरेपछि उहाँ काठमाडौँ छिर्नुभयो । विसं २०४६ मा बीए पास गरेपछि माथिल्लो तहको पढाइका लागि २०४७ सालतिर राजधानी जानुभएका शाक्यले त्यहाँ विभिन्न आरोहअवरोह र चुनौतीको सामना गर्नुप¥यो । राजधानीमा पढ्दै बाँच्ने क्रममा आर्थिक अभावका कारण शाक्य एक निर्यात कम्पनीमा काम सुरु गर्नुभयो । 

त्यस समयमा पनि आफूले निकै समस्या भोग्नुपरेको अनुभव शाक्यले सुनाउनुहुन्छ । त्यस बखत ठेलागाडामा सामान ओसारपसार समेत गरेको उहाँको भनाइ छ । त्यसको केही वर्षपछि बागलुङ फर्किएरै लेखन कला व्यवसाय आरम्भ गरेको शाक्यले बताउनुभयो ।

“पढ्नका लागि ४७ सालतिर म काठमाडौँ गए, काठमाडौँ धेरै आरोहअवरोह पार गरेँ, ठेलागाडामा सामानसमेत ओसारेँ” शाक्यले भन्नुभयो “त्यसपछि म बागलुङ फर्किएर लेखनसम्बन्धी काम गर्न थालेँ ।”

विसं २०४९ देखि व्यावसायिक रुपमा चित्र कोर्न थाल्नुभएका शाक्यले सुरुमा तत्कालीन राजा स्वर्गीय महेन्द्र शाहको तस्बिर कोर्नुभएको थियो । त्यससँगै उहाँले विभिन्न देवीदेवता र प्रकृतिको तस्बिर कोर्नुभयो । शाक्य अहिले उमेरले ५६ वर्ष हुनुभयो तर उहाँको लेखन र चित्रकलाप्रतिको भोक, लगाव, समर्पण निकै उत्साहप्रद छ । 

चित्र कोर्ने, ब्यानर, साइनबोर्ड लेख्नेलगायतका कलाबाटै सिङ्गो परिवारको जीविका समेत चलाउदै आउनुभएको छ । सुरुमा टिनको पातामा चित्र गर्ने गर्नुभएका शाक्यले पछिपछि कपडालगायत विभिन्न वस्तुमा पेन्टिङ गर्न थाल्नुभयो । ब्यानर र साइनबोर्ड लेख्न आफ्नो साथीबाट सिक्नुभएका शाक्यले चित्रहरु भने आफैँ कोर्न सक्नुभयो । 

अहिले पनि चित्र कोर्ने, ब्यानर र साइनबोर्ड लेख्न र वाल पेन्टिङको काम दैनिकजसो गर्दै आउनुभएको छ । विसं २०४६ मा स्नातक उत्तीर्ण गर्नुभएका शाक्यले अरु जागिर पनि गर्न सक्ने प्रशस्त सुविधा, अवसर र क्षमता थियो । तर जीवनमा कलाप्रतिको आसक्तिले त्यसबाट बाहिर जाने र सोच्ने कुरा शाक्यका लागि गौण बन्यो ।

काठमाडौँबाट गाउँ फर्किएपछि शाक्यले २०४९ सालमा बागलुङमा ‘रन्तल आर्ट’ खोल्नुभयो । त्यसबेलादेखि सुरु भएको शाक्यको व्यावसायिक कला व्यवसाय अहिले पनि उत्तिकै ऊर्जा र उत्साहका साथ निरन्तर सञ्चालनमा छ । नौ सय रुपियाँबाट व्यवसाय सुरु गर्नुभएका शाक्य लेखन कला व्यवसायबाटै सुविधासम्पन्न घरसहितको सम्पत्ति जोड्न सफल हुनुहुन्छ । आफ्नै कलामा रमाउने शाक्यलाई घर्किदो उमेरले केही फरक पारेको छैन ।

“सुरुमा बुबाले नौ सयको बेञ्च र टेबल ल्याइदिनुभयो, त्यही बेञ्च र टेबलबाट सुरु गरेको व्यवसाय अहिलेसम्म चलिरहेकै छ,” शाक्यले भन्नुभयो “जहिलेसम्म हातले कलम र मसी समात्न सक्छ, त्यसबेलासम्म यो व्यवसाय चल्नेछ, अरु जस्तो दुःख छैन, जतिबेला गरे पनि भयो, आफ्नै हिसाबले काम गर्न पाइन्छ, कसैको दबाब सहनुपरेन, आनन्दै छ ।”

शाक्यले आफ्नो यही पेसाबाटै दुई छोराको उच्चशिक्षा पढाइ सक्नुभएको छ । जेठो छोरो अहिले अध्ययनकै लागि अष्ट्रेलिया पुगेका छन् । परिवारको जीविकोपार्जनसँगै शाक्यको बागलुङ बजारको सिर्जना टोलमा पक्की घर खडा छ ।

दुई छोरा र श्रीमतिसहित चार जनाको परिवार खुसीसाथ जीवन निर्वाह भइरहेको शाक्य बताउनुहुन्छ । “मलाई यही पेसामा आनन्द छ, दुःख भए पनि झण्झट भए पनि काम गर्न मज्जा आउँछ, अरु पेसामा चासो पनि दिइएन, अहिले ३१ वर्ष भयो मैले यो पेसा सुरु गरेको, अहिलेसम्म परिवार खुसी नै छ, सबै जना सन्तुष्ट नै छन्, जीविकाेपार्जन पनि राम्रै भएको छ,” शाक्यले भन्नुभयो “परिवारलाई खुसी राख्नु नै मेरो दायित्व हो, अहिलेसम्म राम्रै चलिरहेको छ ।”

बढ्दो प्रविधिका कारण मौलिक कला सङ्कटमा पर्दै गएको शाक्य बताउनुभयो । उहाँले पहिले अत्यधिक रुपमा हुने भित्तेलेखन, ब्यानर, साइनबोर्ड लेखनहरु अहिले फ्लेक्स प्रिन्टले गर्दा निकै कम भएको बताउनुहुन्छ । “पहिले–पहिले भित्तेलेखन, व्यावसायिक साइन बोर्डहरु लेख्नका लागि निकै आउने गर्थे तर अहिले ह्वात्तै घटेको छ, व्यवसायीहरुले पनि फ्लेक्स प्रिन्ट गर्नतर्फ लागे, त्यसले गर्दा यो काम निकै कम आउने गरेको छ,” शाक्यले भन्नुभयो “केही वर्ष अगाडिसम्म त भ्याइनभ्याइ हुन्थ्यो, हातले लेख्न कामहरु अहिले बिस्तारै घटिरहेको छ ।”

उहाँले आधुनिकताले कलाक्षेत्रलाई प्रभाव पारे पनि आफूले यही रुपमै आफ्नो व्यवसायलाई निरन्तरता दिने बताउनुभयो । शाक्यले पेन्टिङले नै आफूलाई चिनाएको भन्दै आफू फ्लेक्सतिर नलागेको बताउनुभयो । “म यो कामलाई सक्दासम्म निरन्तर गरिरहन्छु, मलाई यही कलाले चिनाएको हो, यतिका वर्ष भयो मैले यसैलाई नै निरन्तरता दिएको छु, यो मेरो कला हो, कला बेच्छु,” उहाँले भन्नुभयो “डिजिटल त जसले पनि बनाउन सक्छ, यस्तो कला सबैमा हुँदैन ।”

शाक्यले आफूलाई भगवानले नै गरी खान भनी यस्तो कला दिएकोमा विश्वास छ । आफूले बायाँ हातले नै सबै चित्रहरु कोर्ने र लेख्ने गरेको भन्दै कलाको संरक्षण सबैले गर्नुपर्ने शाक्यको भनाइ छ । नौ सय रुपियाँबाट कला व्यवसाय सुरु गर्नुभएका शाक्यले अहिले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । शाक्यको पसलमा अहिले पनि सयौँ नागरिकहरु चित्र कोर्न र कलासम्बन्धी काम लिएर आउने गर्छन् ।

“पहिलेको तुलनामा डिजिटल प्रविधिको आगमनले केही प्रभाव त पारेकै छ, तर अझै पनि धेरै नागरिकहरु विभिन्न काम लिएर आउने गर्नुहुन्छ, कहिलेकाहीँ भित्तेलेखनको काम पनि हुन्छ, गाउँ गाउँ पुग्छु, यो व्यवसाय अझै पनि राम्रो छ,” शाक्यले भन्नुभयो “कहिले दिनमै २० हजार पनि हुन्छ, कहिले आम्दानी निकै कम हुन्छ तर कमाइ भएन भनेर निराश हुनुपर्ने अवस्था भने छैन, पहिलेको तुलनामा केही कम भएकै छ, त्यस्तो ठप्पै चाहिँ भएको छैन ।”

रन्तल आर्ट पुग्यो भने त्यहाँ दर्जनौं प्रकारका चित्र÷स्केचहरु देख्न सकिन्छ । उहाँले आफ्नो कार्यकक्षदेखि घरका भित्ताहरु पनि आफैँले कोरेका आकर्षक चित्रहरु राख्नुभएको छ । जसले उहाँको घरमा प्रवेश गर्दा मात्रै पनि कुनै आकर्षक ‘कला घर’ मा प्रवेश गरेको अनुभूति हुन्छ । डिजिटल बजारको माग र प्रभाव बढ्दै गए पनि आफूलाई मौलिकता र आफ्नो कलामा विश्वास भएकाले आम्दानी र भविष्यमा निराश हुनुपर्ने अवस्था नभएको शाक्य बताउनुहुन्छ ।

“मलाई आफ्नो कला पौरखमा विश्वास र भरोसा थियो, छ, यो काम गर्न मलाई निकै उत्साह जागेर आउँछ,” उहाँले भन्नुभयो, “आफूले तयार गरेका कलाहरुको पनि असीम माया लागेर आउँछ, अरुले बनाएको कलाप्रति पनि उत्तिकै सम्मान गर्न मन लाग्छ ।” अब आफ्नो घरलाई नै आकर्षक ‘आर्ट ग्यालरी’ को रुपमा सजाउने सपना रहेको उहाँले बताउनुभयो । अहिले घरका भित्ता, झ्याललगायतका ठाउँमा चित्रहरु राखेको उहाँको भनाइ छ ।

पछिल्लो पुस्ताले यसतर्फ ध्यान नदिँदा यो क्षेत्र नै सङ्कटमा पर्ने डर उहाँमा छ । “अहिलेका युवा पुस्तामा चित्र कोर्ने, ब्यानर लेख्ने चासो देखिंदैन, उनीहरुलाई केही चाहिने बित्तिकै डिजिटल बोर्ड छाप्न गइहाल्छन् । उहाँलाई भोलि यो क्षेत्र पनि कतै लोप होला कि भन्ने चिन्ताले सताएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *