गायिका एलिना चाैहानकाे स्वरमा भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक
इन्भेष्टाेपेपर । असाैज २२, २०७७
पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ म्यूजिक भिडियाे ‘बनचरी’ सार्वजनिक भएको छ ।
गीतमा एउटी नारीको जीवन यात्रालाई समेटनुका साथै आमा छोरीको सबन्धलाई पनि जीवन्तरूपमा प्रस्तुत गरिएको छ । गीत तथा म्यूजिक भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ ।
भूमिका सुब्बाको शब्द रचना र एलिना चौहानको स्वर रहेको गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाईका कलाकार लक्ष्मी बर्देवाको अभिनय रहेको छ । उहाँलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिनुभएको छ ।
साजन राईको सङ्गीत रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गर्नुभएको छ । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियो ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो ।
