विश्वकप क्रिकेट : शकिबको दोस्रो शतक र बंगलादेशको शानदार जित
Investopaper, असार ०३, २०७६
शकिब अल हसनको सानदार शतकपछि बंगलादेशले विश्वकप क्रिकेटमा सोमबार वेस्ट इन्डिजमाथी ७ विकेटका स्मरणीय जित हात पारेको छ । बंगलादेशले विश्वकपमा दोस्रो ठुलो विजय लक्ष्य स्कोर पछ्याउदै सेमिफाइनल यात्राको सम्भावनालाई कायमै राखेको छ ।
शकिबले ९९ बलमा अविजित १ सय २४ र लिन्टोन दासले ६९ बलमा अविजित ९४ रन बनाएपछि बंगलादेशले ३ सय २२ रनको लक्ष्य ८.३ ओभर अगाडि नै पुरा गरेको हो । सन् २०११ मा आयरल्यान्डले इंग्ल्यान्डमाथी ३ सय २९ रन बनाउदै जितेको खेल विश्वकपमा विजय लक्ष्यमा बनाएको सबैभन्दा बढी रन हो ।
बंगलादेश ५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । सहभागि १० टोली आपसमा राउन्ड रोबिनमा खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् । अस्ट्रेलिया (८), न्युजिल्यान्ड (७), भारत (७) र आयोजक इंग्ल्यान्ड (६) अंकसहित पहिलो चार स्थानमा छन् ।
फिल्डिङमा फितलो रहेको वेस्ट इन्डिजका बलरले बलिङ पनि निकै खुकुलो गरेका थिए । ५ खेलमा तेस्रो पराजय बेहोरेपछि वेस्ट इन्डिजको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । वेस्ट इन्डिज ३ अंकसहित सातौं स्थानमा छ ।
ओपनर तामिम इकबालले ५३ बलमा ४८ रन बनाए । तामिम र सोउम्य सरकारले ९ ओभर भित्र ५० रन जोडेका थिए । सरकारले २३ बलमा २९ रन बनाए । मुसफिकर रहिम १ रनमै आउट भए । शकिब र दासले चौथो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरेपछि बंगलादेशले एकतर्फी जस्तै खेल आफ्नो पक्षमा पार्यो ।
शकिबको यो लगातार दोस्रो शतक हो । उनले इंग्ल्यान्डसँग १ सय २१ रन बनाएका थिए । उनी बंगलादेशबाट एकदिवसीयमा ६ हजार रन बनाउने दोस्रो खेलाडी पनि बने । जारी विश्वकपको चार खेलमा दुई शतक र दुई अर्धशतक बनाउदै उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा आएका छन् । उनले १६चौका र दासले ८ चौका र ४ छक्का प्रहार गरे ।
यसअघि वेस्ट इन्डिजबाट साई होपले ९६, इभिन लुइसले ७० रसाइमन हेटमरले २६ बलमा ५० रन बनाएका थिए । बंगलादेशबाट शकिबले दुई विकेट पनि लिएका थिए ।
- एएफपी
