टी ट्वान्टी क्रिकेटमा बङ्गलादेशको अष्ट्रेलियामाथि पहिलो जित
इन्भेष्टोपेपर । श्रावण २०, २०७८
काठमाडौं । अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट खेलमा बङ्गलादेशले अष्ट्रेलियालाई पहिलो पटक हराएको छ । बङ्गलादेशले अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल्न आएकाे पाहुना टाेली अष्ट्रेलियामाथि २३ रनको राेमाञ्चक जित हात पारेको हाे ।
दुइ देशबीच हुने पाँच खेलको टी ट्वान्टी शृङ्खलामा पहिलाे जितसंगै बङ्गलादेशले १–० को अग्रता लिएको छ । बङ्गलादेशले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया क्रिकेट टोली मात्र १०८ रनमा समेटिन पुग्यो । उसको पारीका आठ जना ब्याट्सम्यानले दोहोरा योगफल जोडन असमर्थ रहे ।
ओपनर एलेक्स कैरीलाई मेहदी हसनले डक आउट गराएपछि अष्ट्रेलिया दबाबमा आएको थियो । मिशेल मार्शले ४५ रनको योगदान गरेर स्थिरता प्रदान गर्न भरमग्दुर प्रयास गरेपनि अन्य कुनै पनि ब्याट्सम्यान बङ्गलादेशको बलिङ्गको सामना गर्न सकेनन् र लगातार विकेटको पतन हुँदै गयो ।

बङ्गलादेशको बलिङमा नसुम अहमदले चार ओभरमा मात्र १९ रन खर्चेर सर्बाधिक चार विकेट लिनुभयो । मुस्तफिजुर रहमान र शोरिफुल इस्लामले सामान दुई दुई तथा महेदी हसन र शकीब अल हसनले एक एक विकेट लिनुभयो । याे खेलकाे प्लेयर अप द म्याच पनि बङ्गलादेश बलर नसुम अहमद हुनुभयाे ।
