७ सय ४ स्थानीय तहमा वाणिज्य बैंकहरूकाे उपस्थिति, अब ४९ स्थान मात्र बांकि
Investopaper, फागुन ०७, २०७५
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सोमबार राति ९ बजे जारी गरेको छ । उक्त समिक्षामा उल्लेख भए अनुसार २०७५ माघ महिनासम्ममा ७ सय ४ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ ।
अव सातै प्रदेशका जम्मा ४९ वटा स्थानीय निकायहरूमा वाणिज्य वैंकहरूकाे शाखाहरू स्थापना हुन सकेका छैनन ।

२०७५ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ५ सय ९१ पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या ६ हजार ६ सय ५१ रहेको थियो । ७ सय ५३ स्थानीय तहहरुमध्ये माघ महिनासम्ममा ७ सय ४ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । यस्तो संख्या २०७५ असार मसान्तमा ६ सय ३१ रहेको थियो ।
राष्ट्र बैंकले एक वर्ष भित्रमा सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई निरन्तरता दिएको उल्लेख गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले आफनो संस्थामा प्रकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दति खातामा रहेको ३ लाख रुपैयाँ सम्मको निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्ताे रकम २०७५ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको ४ खर्ब ३० अर्ब ७४ कारोड निक्षेप सुरक्षण भएकोमा २०७५ पुष मसान्तमा सुरक्षण रकम बढेर ५ खर्ब ७९ अर्ब ९७ करोड पुगेको जनाएको छ । अहिले बैंकहरुसँग कुल निक्षेप २६ खर्ब ५६ अर्ब रुपैयाँ रहेकाे छ।
