बैकिंग फ्रड बढदैः नेपाल बैंकमा ७० लाख हिनामिना, फ्रड थरीथरीका

Investopaper, कार्तिक २१, २०७६

नेपाल बैंकका कर्मचारी भूपराज कोइरालाले आर्थिक अनियमितता गरेको खुलासा भएको छ। कोइरालाले विभिन्न शाखामा प्रमुख रहँदा वास्तविकभन्दा बढी मुद्दती निक्षेप देखाएर बैंकबाट ब्याज असुल्ने र बढी भएको ब्याज आफ्नो खातामा स्थानान्तरण गरी अनियमितता गरेको आरोप बैंकले लगाएको छ। 

कोइरालाले करिब ६० देखि ७० लाखसम्म हिनामिना गरेको बैंकको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। ‘कम्तीमा करिब ६० लाख रुपैयाँ हिनामिना भएको देखिएको छ,’ स्रोतले भन्यो, ‘अझै अनुसन्धान बाँकी रहेकाले रकम अझै बढ्न सक्छ। हाल यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । 

कोइरालालाई बैंकले निलम्बन गरिसकेको छ। लेखा परीक्षणका क्रममा दोषी भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्वीकार गरे। ‘आन्तरिक लेखा परीक्षणका क्रममा दोषी देखियो,’ उनले भने, ‘सम्बन्धित कर्मचारीलाई निलम्बन गरिएको छ भने बैंकिङ कसुरको अभियोगमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’ 

कोइराला नेपाल बैंकका नवौं तहका कर्मचारी हुन्। ०६१ सालमा कोइराला छैटौं तहबाट नेपाल बैंकमा प्रवेश गरेका थिए। गत साउनदेखि उनी बैंकमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा थिए। त्यसअघि उनी भक्तपुर, डिल्लीबजार लगायत शाखा प्रमुख थिए। सोही समयमा पदीय दुरूपयोग गरी कोइरालाले आर्थिक अनियमितता गरेको देखिन्छ । ‘कोइरालाले ५-७ वर्षअघि देखि नै सो काम आर्थिक हिनामिना गर्दै आएका रहेछन्,’ बैंक स्रोतले भन्यो, ‘पछिल्लो समय डिल्लीबजारको शाखाबाट यो कुरा बाहिरियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *