३ खेल अगाबै बार्सिलोना २६औँ पटक लालिगा च्याम्पियन
वैशाख १६, २०७६
बार्सिलोना २६औँपटक स्पेनिस लालिगा च्याम्पियन बनेको छ । पछिल्लो १० सिजनमा आठौँपटक लालिगा च्याम्पियन बन्नेक्रममा बार्सिलोनाले शनिबार राति लाभान्टेलाई १–० ले हरायो ।
लालिगामा अब केवल ३ खेल बाँकी छन् । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग स्पष्ट नौ अंकको अग्रता कायम गरेपछि बार्सिलोनाले उपाधिरक्षा गरेको हो ।
बार्सिलोनाले उपाधि उचाल्दा ३५ खेलबाट ८३ अंक बटुल्यो । म्याड्रिडले समान खेलबाट ७४ अंक बनाएको छ । रियल म्याड्रिडले कीर्तिमानी रूपमा ३३ पटक लालिगा उपाधि उचालेको हो ।
१०औँपटक उपाधि चुमे मेसीले
अर्जेन्टिनी प्लेमेकर लियोनल मेसीले लगातार जादुमयी खेल प्रस्तुत गर्दा बार्सिलोनाले स्पेनिस लालिगामा अन्य क्लबलाई खासै उपाधि उचाल्ने मौका दिएको छैन । पछिल्लो एक दशकमा रियल म्याड्रिडले दुई तथा एट्लेटिको म्याड्रिडले एकपटक मात्र उपाधि चुमेका छन् ।
मेसीले आफ्नो करिअरमा १०औँपटक लालिगा उपाधि चुमे । लाभान्टेविरुद्ध पहिलो हाफमा बेन्चमा बसेका मेसीले मध्यान्तरपछि च्याम्पियनसिप गोल गरेका थिए । मेसीले प्रभावशाली प्रदर्शन गरेको खेलमा लाभान्टेले अन्तिम एक मिनेट बाँकी रहँदा बराबरी गोल गर्ने अवसर गुमाएको थियो ।
- एजेन्सी
