प्रधानमन्त्री द्वारा अनलाइन डाटा पोर्टलको उद्घाटन : सबै सरकारी तथ्यांक एकै ठाउँमा

वैशाख १६, २०७६

सबै सरकारी तथ्यांक एकीकृत गर्ने उद्देश्यसहित निर्माण गरिएको राष्ट्रिय डाटा प्रोफाइल सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा अनलाइन डाटा पोर्टलको उद्घाटन गरेका छन् ।

राष्ट्रिय योजना आयोगको पहलमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको पोर्टलमा वडा तहदेखि संघीय तहसम्मका सबै तथ्यांकहरू समेटिने विभागका महानिर्देशक सुमन अर्यालले जानकारी दिए ।

नेसनल डाटा डट जीओभी डट एनपी नाम दिइएको पोर्टलमा स्थानीय तह, प्रदेश र संघसम्बन्धित ४ सय बढी सूचकांकहरू छन् । डाटा पोर्टलमा स्थानीय तहदेखि प्रदेशअनुसार भूगोल, प्रकृति, स्रोत साधन, क्षमता र सम्भावनासँग सम्बन्धित तथ्यांकहरू समावेश गरिएको छ ।

हरेक प्रदेश, स्थानीय तह र वडा तहसम्मका विवरणहरू पोर्टलबाट लिन सकिन्छ । प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहसम्मका जनसंख्या, घरधुरी,जाति, लिंग, धर्मसहित स्थानीय तहको चाडवर्प, उद्योग, स्वास्थ्य सुविधा, शिक्षा सुविधाका विषयमा विवरण पोर्टलमा लिन सकिन्छ । ती क्षेत्रमा रहेको पर्यटन, उद्योगजस्ता सम्भावना र सांस्कृतिक पक्षका विषयमा पनि विवरण लिन सकिनेछ ।

सरकारले नीति तथा कार्यक्रममा सम्पूर्ण सूचनाहरूका लागि राष्ट्रिय तथ्यगत विवरण तयार पार्ने उल्लेख गरेको छ । सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार योजना आयोगको पहलमा तथ्यांक विभागले पोर्टल तयार पारेको हो ।

एकीकृत तथ्यांक पोर्टलले विकासको योजना निर्माण सघाउने योजना आयोगका सदस्य सचिव लक्ष्मण अर्यालले जानकारी दिए । स्थानीय तह, प्रदेश र संघका सरकारी निकायले आफूसँग सम्बन्धित तथ्यांक प्रमाणित गरी आफैं अपडेट गर्न सक्ने अर्यालले जानकारी दिए ।
‘असारसम्ममा केन्द्रीय तथ्यांक विभागसँग भएका ८० प्रतिशत तथ्यांक पोर्टलमा अपडेट गराइसक्ने योजना छ,’ उनले भने, ‘आजसम्म भएका जनगणना र अन्य सबै तथ्यांकहरू खण्डीकृत रूपमा पोर्टलमा राखिनेछ ।’


पन्ध्रौं विकास योजना मन्त्रिपरिषदमाः

आयोगको बैठकले पन्ध्रौं योजनाको आधारपत्र स्वीकृत गर्दै मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८०/८१ सम्मका लागि तयार पारिएको पञ्चवर्षीय योजनामा उक्त अवधिमा आर्थिक वृद्धिदर औसत १० दशमलव ३ प्रतिशत कायम राख्ने, प्रतिव्यक्ति आय वार्षिक १ हजार ६ सय पुर्‍याउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसंख्याको प्रतिबत १३ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।

अहिले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या करिब १९ प्रतिशत छ । साढे २८ प्रतिशत रहेको बहुआयामिक गरिबीको रेखामुनि रहेको जनसंख्यालाई १४ प्रतिशतमा झार्ने पन्ध्रौं योजनाको लक्ष्य छ ।

बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पन्ध्रौं योजनाको कार्यान्वयनपछि नेपालमा गरिबीको दर उल्लेख्य रूपमा घट्ने दाबी गरे । ओलीले नेपालमा विकासका लागि विविध सम्भावना रहे पनि कार्यान्वयन गर्न नसकिएको टिप्पणी गरे । ‘आगामी वर्षदेखि दोहोरो अंकको वृद्धिदर हासिल गर्ने गरी काम गर्छौं,’ उनले भने, ‘दोहोरो अंक १० भन्दा माथि जति पनि हुन सक्छ ।’

-कान्तिपुर दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *