बर्नार्ड आर्नोल बने विश्वकै सबैभन्दा धनी व्यक्ति
इन्भेष्टोपेपर । जेष्ठ १२, २०७८
वाशिङटन डीसी । फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
फ्रान्सको लक्जरी ग्रूप एलभीएमएचका प्रमुख कार्यरकारी अधिकृत आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर मंगलवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।
अमेरिकी आर्थिक पत्रिका फोब्र्सको अनुसार आर्नोलको नेटवर्थ १ खर्ब ८६ अर्ब ४० करोड डलर रहेको छ । बेजोसको भने १ खर्ब ८६ अर्ब डलर छ । यसैगरि एलन मस्ककाे सम्पत्ति भने १ खर्ब ४७ अर्ब ३० कराेड डलर रहेकाे छ ।
विश्व अर्थतन्त्रमा काेराना महामारीले भारी मन्दी छाएकाे बेला यस वर्षको अहिलेसम्मको अवधिमा आर्नोलको नेटवर्थ ७६ अर्ब डलर थपिएर १ खर्ब ८६ अर्ब ४० करोड डलर पुगेको छ ।
विश्वका धनीहरूकाे सूचीकाे १ नं. मा अमेरिकी नागरिकहरूकाे आधिपत्य रहँदै आएकाे छ । जेफ बेजाेस, एलन मस्क, विल गेट्स र वारेन बफेट सबै अमेरिकी हुन भने एकजना मेक्सिकन नागरिक कार्लाेस स्लीमले मात्र रेकर्ड ताेडेका थिए । (एजेन्सी)
