नगरकाेटकाे क्लब हिमालय रिसोर्ट २५ औं वर्षमा

इन्भेष्टोपेपर । जेष्ठ १३, २०७

भक्तपुरको नगरकोट स्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको शुरुआती दिनदेखिकै साक्षीका रुपमा रहेकोयो होटल एस होटल समूहले संचालन गर्दै आएको छ। नगरकोट भन्ने बित्तिकै क्लब हिमालयको नाम आइहाल्छ ।

यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर संचालनमा आएको थियो। त्यतिखेर रिसोर्टको उद्घाटन तत्कालिन पर्यटनमन्त्री चक्र बास्तोलाले गर्नुभएकाे थियाे।

आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेशन विकासमासमेत मुख्य भूमिका क्लब हिमालयको रहेकोछ । होटल व्यवसायी योगेन्द्र शाक्य भन्नुहुन्छ, भोलि यस्तो समय पनि आउला जब पर्यटकहरु नगरकोटमै बस्ने गरी आउने र साइट सिइङका लागि काठमाडौं जानेछन्, यसको सम्भावना देखिएकोछ।’

त्यो बेला त्यहाँ चारतारे होटल बनाउने भन्ने चानचुने चुनौती थिएन, किनभने बिजुली, टेलिफोन थिएन भने सडकको अवस्था पनि नाजुक थियो । ती चुनौतीहरूलाई पार लगाउँदै उहाँले होटल निर्माण गरी छाडनुभयाे र नगरकोटको परिचय नै बदल्न सम्भव भयो । अहिले जग्गाको मूल्य ह्वात्तै बढेको छ भने पूर्वाधार विकास पनि राम्रो भएको छ । अहिले नगरकोटमा सुविधासम्म होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् । त्यहाँ अर्बौं रुपैयाँ लगानी भित्रिएको छ ।

समुद्र सतहदेखि सात हजार दुई सय फीटको उचाईमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दुरीमा छ। सुरुमा शाक्यको समूहले १९९३ मा टी हाउसकाे रूपमा सञ्चालनमा गरेकाे थियाे । अहिले यस रिसोर्टमा  स्ट्याण्डर्ड, डिलक्स र डिलक्स प्रिमियम लगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन्। रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा छ । हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सहजै गर्न सकिने रिसोर्टले जनाएको छ।

सुरुमा होटलमा ४० वटा कोठा मात्र थियो । पछि लगानी विस्तार गर्दै कोठाको संख्या थपेको उहाँको भनाइ छ । क्लब हिमालय नगरकोटकै हब रहन सफल भएको दाबी उहाँको छ।

विहानी झुल्के घाम होस या हिमालय पर्वतको मनोरम दृश्य नियाल्न सकिने यस होटलमा कोरोना महामारीका बेला पनि उच्च सुरक्षा सतर्कता अपनाएर ग्राहकलाई सेवा दिइरहेको छ ।

यतिखेर नगरकोटको पर्यटकीय विकास तथा विस्तारका लागि एस होटल, सीई समूह र बैंकिङ तथा पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडेको सहकार्यमा ‘द हब नगरकोट’ नाममा मल्टि-प्रोपर्टीको अवधारणामा एकीकृत पर्यटकीय आयोजना अगाडि बढाइएको छ ।

यो मेगा प्रोजेक्टका लागि यतिखेर गृहकार्य भइरहेको बताउँदै शाक्यले भन्नुभयाे, ’यो हबमा पसल, सिनेमा हल, होटल तथा थुप्रै रेष्टुरेण्टहरु लगायतका  परियोजनाहरु रहनेछन्। पर्यटकहरु एयरपोर्टमा ल्याण्ड हुने बित्तिकै नगरकोट जान सक्नेछन् ।’ द हब नगरकोटलाई हिमाल, पहाड, गाउँ, संस्कृति सबै कुराको एकै ठाउँमा सम्मिश्रणको झल्को दिने पर्यटकीय परियोजना बनाउने सोच रहेकाे शाक्यले बताउनु भयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *