वीर अस्पतालको भिभिआइपी कक्षमा तालाः नेताहरू राज्यकोषबाट उपचार गर्न विदेश

Investopaper, फाल्गुन २१, २०७५

दुई वर्षअघि ५० लाख खर्चेर सुविधा थपिएको भिभिआइपी कक्षमा ताला लागेकाे छ, नेताहरू राज्यकोषबाट उपचार गर्न विदेश जान्छन् । वीर अस्पतालको भव्य भिभिआइपी कक्षमा एकै बिरामीका लागि आइसियू, एसी र बाथरुमसहितको कोठा,  सुरक्षाकर्मी, परिवार, आगन्तुक, डाक्टर र नर्सलाई छुट्टाछुट्टै कोठा, भान्सा र अलग्गै बाथरुमकाे समेत व्यवस्था छ । जनताले बेड पाउँदैनन्, लास पनि शौचालयकाे छेउ कुनामा फालिन्छ, अस्पतालमा शवगृह समेत छैन ।

वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधासम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरू भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरूको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख बिदेसिएको छ ।

वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सहरूका लागि छुट्टै कोठा छन् । यसबाहेक भान्सा र बाथरुम छन् । पञ्चायतकालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो । ०४६ सालपछि भने यहाँ भर्ना भएर उपचार गर्न कुनै पनि भिभिआइपी पुगेका छैनन् ।

अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादव वेलावेला बहिरंग सेवा लिन वीर अस्पताल पुग्ने गरेका छन् । विशेषगरी उनीहरू दाँतको उपचारका लागि आउने गर्छन् ।

सुविधा वढदै, सेवा लिनेलार्इ चासै छैनः

दुई वर्षअघि भिभिआइपी र भिआइपी कक्षको मर्मतमा पछिल्लोपटक ५० लाख खर्च गरिएको छ ।  त्यसअगाडि १३ लाख खर्च गरेर सो कक्ष सञ्चालनमा ल्याइएको थियो । भिभिआइपी र भिआइपी कक्षमा सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेच बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन् ।

बिरामीको स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’ छ । जसले बिरामीको हृदयगति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रमको अवस्थाबारे जानकारी दिने गर्छ । कोठामा सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, ‘डिफिब्रिलेटरलगायत आपत्कालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्री छन् । नजिकैको कोठामा इसिजी मेसिन छ । यसका साथै भेन्टिलेटर र अक्सिजन पनि छ ।

भिभिआइपी कक्षसँगै जोडिएको सुविधासम्पन्न भिआइपी क्याबिन पनि छ । जसमा बिरामी र कुरुवा बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने र भान्सा गरी तीनवटा कोठा छन् । पछिल्लो समय केही भिआइपीले उपचारका लागि वीर अस्पताललाई रोज्न थालेका छन् । अस्पतालले भित्र्याएका अत्याधुनिक उपकरण, सबै प्रविधिको उपलब्धता र गुणस्तरीय सेवाका कारण सामान्य नागरिकदेखि भिआइपीहरूसम्म सेवा लिन आउन थालेको निर्देशक बस्नेतले बताए । पाँच वर्षयता वीर अस्पतालमा १२ जना भिआइपीले उपचार गराएको भिभिआइपी तथा भिआइपी इन्चार्ज सीता अर्यालले बताइन् ।

विशिष्टको उपचारमा चार वर्षमा ६ करोड, यस वर्ष मात्रै अर्थ मन्त्रालयबाट २७ लाख निकासा:

पूर्वराष्ट्रपति डा. रामवरण यादव, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलगायतको उपचारमा राज्यले चार वर्षमा ६ करोड खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष वैशाखदेखि माघसम्म विदेशमा उपचार गराएका विशिष्ट व्यक्तिहरूलाई २६ लाख ९८ हजार निकासा गरिएको छ ।

पछिल्लो समय चौतर्फी विरोध हुन थालेपछि उपचारका नाममा बाँडिने रकम घट्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको लेखा शाखाका उपसचिव मुक्तिनाथ न्यौपानेका अनुसार विगत दुई वर्षयता स्वास्थ्य मन्त्रालयले विशिष्टको उपचारका लागि कुनै रकम निकासा दिएको छैन । तर, मन्त्रिपरिषद्बाट सीधै पैसा निकासा हुने गरेको छ ।

वीर अस्पतालका कामु निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेत भन्नुहुन्छ, वीर अस्पतालमा सुविधासम्पन्न उपकरण छन् । सोहीअनुसार विशेषज्ञ चिकित्सकहरू पनि छन् । जस्तोसुकै समस्यालाई समाधान गर्ने जनशक्ति हामीसँग छन् । त्यसैले वीरमा उपचार कस्तो होला भन्ने भ्रम कसैले पनि पाल्नुपर्ने अवस्था छैन । सुविधामा कुनै कमी छैन, हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता वीर अस्पतालसँग छ ।

अाजकाे नयां पत्रिकामा खवर छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *