राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी, लोगो तथा फूटवल गीत सार्वजनिक
Investopaper, फाल्गुन २१, २०७५
नेपालको राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक भएको छ । जर्सीसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ लोगो र फुटबल गीत पनि सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले सोमबार एक कार्यक्रमबीच जर्सी, लोगो तथा फुटवल गीतकाे सार्वजनिक गरेका हुन् ।
जर्सीकाे स्पाेन्सर स्पेनिस व्राण्ड केल्मीः
नेपाली फुटबल टोलीको जर्सीमा देब्रेपट्टी एन्फाको लोगो हुनेछ । यसअघि त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो । जर्सीमा सगरमाथाको आकृति पनि बनाइएको छ ।

यसअघि नेपाली फुटबलको जर्सी २०७४ सालमा परिवर्तन गरिएको थियो । केल्मीले नेपाली फुटबललाई स्पोन्सर गरेपछि जर्सीको डिजाइन परिवर्तन गरिएको थियो । गत वर्ष पनि स्पाेन्सर गरेकाे केल्मीले यस वर्ष करिब ९० लाखबराबरको प्रायोजन गरेको छ भने आगामी वर्ष अझै वृद्धि गरिने जनाएको छ । जर्सी रातो र नीलो दुई रंगमा रहेको छ ।
एन्फाकाे नयां लाेगाेः
त्यस्तै एन्फाको नयाँ लोगो सार्वजनिक पनि भएको छ । एन्फाको लोगोको माथि सगरमाथा छ । लोगोको तल्लोपट्टी नेपालको झण्डा राखिएको छ । लोगोको एक छेउमा बनाइएको फुटबलमा सात प्रदेशको प्रतिक पनि राखिएको छ । लोगोको डिजाइन सन्दीप तिवारीले गरेका हुन् । ५७० वटा डिजाइनमा उत्कृष्ट ठहरिएको यो लोगोका डिजाइनर सन्दीपले ५० हजार रुपैयाँ प्राप्त गरे ।
व्याकुल माइलाको रचनामा फुटबल गीतः
एन्फाले पहिलो पटक फुटबल गीत पनि बनाएको छ । गीतको बोल छ, ‘फुटबल फुटबल फुटबल, हामी खेल्छौ देशको नाम राख्छौ ।’
यो गीत राष्ट्रिय गीतकै रचनाकार ब्याकुल माइलाले गरेका हुन् । प्रदीप बम्जनले संगीत भरेका छन् भने आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी, रोज मोक्तान, टीका प्रसाईं, सोफिया थापा, लक्ष्मी गुरुङ, अपेक्षा भारती, भूमिका सुब्बा, संगीता प्रधान राना लगायतले स्वर दिएका छन् ।
