क्यान्‍सर राेग घरेलु उपचारले निको हुन्‍न, समयमै सतर्क बनाै

Investopaper, असार २१, २०७६

काठमाडौं :  क्यान्सर निको हुन्छ भन्दै कोही जमराको जुस पिउँछन् त कोही गोमूत्र वा स्वमूत्र सेवन गर्छन्। कसैले गुलियो खान नहुने भन्दै मुख बार्न थाल्छन्। तर, समयमै सतर्कता नअपनाउँदा क्यान्सर उपचारमा ढिलाइ हुने भारत र नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ बताउँछन्।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. पुर्वेस परिख भन्छन्, ‘गोमूत्र होस् स्वमूत्र, यो सेवन गर्दैमा क्यान्सर निको हुँदैन।’

प्राकृतिक वा वैकल्पिक चिकित्साभन्दा क्यान्सर निको पार्न आधुनिक चिकित्सा (एलोपेथी) नै प्रभावकारी हुने विशेषज्ञ बताउँछन्। ‘क्यान्सरको उपचार छाडेर योग तथा मेडिटेसन गर्दा हानिकारक हुन्छ। उपचार क्रममा बिरामीमा चिन्ता, तनाव भए योग गर्न सकिन्छ,’ डा. परिखले भने।

धूमपान सेवनका कारण क्यान्सर हुने पुष्टि भएपछि बिरामीले तलतल मेटाउन पान, गुट्खा सेवन गर्ने गरेको वरिष्ठ क्यान्सर एवं छातीरोग विशेषज्ञ डा. एम के पिया बताउँछन्। ‘चुरोट सेवन गर्न छाडेको भन्दै पान, गुट्खा सेवन गर्दा मुख, जिब्रो र घाँटीको क्यान्सर हुने जोखिम बढाउँछ,’ डा. पियाले भने।

रक्त रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौडेल क्यान्सर बिरामीले जमराको जुस खाँदा संक्रमण (फंगल इन्फेक्सन ) भएको बताउँछन्। ‘केमोथेरापी (औषधि )लिइरहेका बिरामीले जमराको जुस खानु हुँदैन,’ डा. पौडेलले भने।

रक्त क्यान्सर निको हुँदैन भन्ने भ्रम समाजमा अझै रहेको डा. पौडेलले बताए। उनले भने, ‘रगतको क्यान्सर भएका बालबालिकाको केमोथेरापी र बोनम्यारो प्रत्यारोपणपछि निको भएका उदाहरण धेरै छन्।’ क्यान्सर रोग विशेषज्ञ डा. विजेशराज घिमिरे बिरामीहरू क्यान्सरको उपचारका लागि बायोप्सी एवं सर्जरी गर्दा डराउने बताउँछन्।

‘क्यान्सर रोग कुन चरणमा छ भनेर त्यही हिसाबले उपचार हुन्छ। रोग निको पार्न सर्जरी गरिन्छ। शरीरलाई हानि हुँदैन। तर, बिरामीले बुझेका हुँदैनन्’, क्यान्सर रोग विशेषज्ञ डा. विनित तलवारले भने।

वृद्धावस्थामा क्यान्सर उपचारका लागि रेडियोथेरापी एवं केमोथेरापी दिँदा झन् असर गर्छ कि भन्दै बिरामीका आफन्तले शंका गर्ने चिकित्सकको अनुभव छ। डा. तलवारले भने, ‘शारीरिक रूपमा तन्दुरुस्त छ कि छैन ? त्यसको परीक्षण गरेर मात्र उपचार सुरु गरिन्छ।’

बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीका रक्तक्यान्सर भएको थाहा पाएपछि डेराबाट घरबेटीले निकालेको सुनाउँछन्। उनले भने, ‘क्यान्सर सरुवा रोग होइन। बेलैमा उपचार गर्ने हो भने पूर्णरूपमा निको हुन्छ।’

क्यान्सरको उपचार

क्यान्सरलाई निको पार्न विभिन्न उपचार विधि छन्। बिरामीलाई औषधि सेवन गरी हुने उपचार केमोथेरापी हो। केमोथेरापी उपचार गरिरहेका बेला कतिपय बिरामीको कपाल झर्ने, वाकवाकी लाग्नेजस्तो सामान्य असर देखिन सक्छ। त्यस्तै, रेडिएसनको माध्यमद्वारा गरिने उपचार विधि रेडियोथेरापी हो।

विकिरणको प्रयोगद्वारा यसको उपचार गरिन्छ। त्यस्तै, कुन अंगमा क्यान्सर भएको छ, त्यसलाई काटेर फाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ। सबै किसिमका क्यान्सरको उपचार स्वदेशमै हुन्छ। क्यान्सर उपचारका लागि बिदेसिनु नपर्ने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन्।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा दिनेश गाैतमले लेखेकाे स्वास्थ्य समाचार ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *