स्मार्ट मिटर जडान सुरु, घरघरमा गएर मिटर रिडिङ गर्नु नपर्ने

इन्भेष्टोपेपर । श्रायण २६, २०७७ 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिङ्गल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गर्नुभयो ।

मुलुकभर हाल करिब ५० लाख सिङ्गल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको सिङ्गल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने प्राधिकरणले जनाएको छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको दाबी छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु नपर्ने, केन्द्रबाटै गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने, मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण र कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले सङ्घीय राजधानीलगायत मुलुकका मुख्यमुख्य सहरमा विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्य बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरिएको पाँच वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा दुई हजार पाँच सयदेखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने बताउनुभयो । गाेरखापत्र दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *