सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ८ प्रतिशत प्रतिफल पाउने

इन्भेष्टोपेपर । असार १५, २०७

काठमाडौँ ।  सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताका लागि ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । कोषले सोमबार पत्रकार सम्मेलन गरी कोषमा सूचीकृत भएका योगदानकर्ताका लागि उक्त रकम सक्दो छिटो जम्मा गर्ने जानकारी गराएको हो ।

कोषका अनुसार उक्त प्रतिफल कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता र दुई लाख ५१ हजार २९२ योगदानकर्ता कोषमा आबद्ध भएकाले प्राप्त गर्नेछन् ।

कोषका अनुसार हाल कोषमा छ अर्ब ३९ करोड ३५ लाख योगदान रकम कोषमा सङ्कलन भएको छ । कोषले सञ्चालन तथा औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना दुई हजार ४७ योगदानकर्तालाई तीन करोड ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार आश्रित परिवारलाई ४८ लाख तीन हजार वृद्धावस्था सुरक्षा योजनामा ८७४ योजनाकर्तालाई छ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी भएको पनि सोही पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधनपछि कोषमा आबद्ध हुने क्रम उत्साहजनक रूपमा बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यविधि संशोधनपछि मात्रै कोषमा एक हजार ३२८ रोजगारदाता ६५ हजार योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । कोषको कार्यविधि गत माघमा संशोधन गरिएको हो ।
पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७६/७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आर्थिक वर्ष २०७६/७७ को वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल तीन करोड ८० लाख १५ हजार ६९८ वितरणयोग्य रकमलाई कोषमा सम्बन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरिएको जनाइएको छ ।

थप कामदारलाई आबद्ध गर्न माग

यसैबीच नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध निर्माण क्षेत्रको युनियन नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल)ले नेपाल सरकारबाट मान्यता प्राप्त निर्माण व्यवसायी तथा कम्पनीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरी निर्माण श्रमिकलाई पनि कोषमा संलग्न गराउन माग गरेको छ ।

क्युपेक नेपालले मुलुकका सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै निर्माण क्षेत्रअन्तर्गतका वनजङ्गलका साथै इँटा भट्टामा कार्यरत श्रमिकलाई तत्काल कोषमा योगदान गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको हो ।

यसैगरी स्वरोजगार श्रमिकका सम्बन्धमा निश्चित मापदण्ड बनाई सरकारको तर्फबाट पनि निश्चित योगदानको व्यवस्था मिलाउन पनि क्युपेकले आग्रह गरेको छ । व्यक्तिगत भवन निर्माण गर्नेलगायत गिट्टी बालुवा, क्रसर उद्योगमा कार्यरत श्रमिकहरूको सम्बन्धमा सरकारले निश्चित रकम प्याकेजमा घोषणा गर्नुपर्ने माग पनि क्युपेक नेपालले गरेको छ ।

काठमाडौँमा क्युपेक नेपालको केन्द्रीय कमिटीले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीलाई भेटेर ध्यानकर्षणपत्र हस्तान्तरण गर्यो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि निर्माणलगायत अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेट्ने गरी छलफल भइरहेको जानकारी दिनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *