जावलाखेल जूमा चिम्पान्जीको जोडीलाई सुविधा सम्पन्न बासस्थान

इन्भेष्टाेपेपर ।  वैशाख १०, २०७९

काठमाडौँ ।  मान्छेका व्यवहारसँग धेरै कुरा मिल्ने एक जोडी चिम्पान्जीले झण्डै चार वर्षपछि सुविधा सम्पन्न बासस्थान पाएका छन् । वनमान्छे चिम्पान्जीको एक जोडीलाई जावलाखेलस्थित सदर चिडियाखानाभित्र सुविधा सम्पन्न आवास गृह निर्माण गरी त्यहाँ सारिएको हो । यसअघि ती जोडी सानो खोरमा थिए ।

सुविधा सम्पन्न बासस्थानमा चिम्पान्जीको जोडीलाई खटिया, लुगाफाटोको व्यवस्था छ । खाना खाने थाल अनि पानी पिउने छुट्टै भाँडाकुँडा छन् । गर्मी ठाउँमा हुर्कने यो चिम्पान्जीको जोडीलाई राति सुत्ने ठाउँमा वातानुकूलित बनाइएको छ । 

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पे्रमनारायण कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले संयुक्त रूपमा आवासगृहको उद्घाटन गर्दै सो गृहमा ती चिम्पान्जी जोडीलाई खुला गर्नुभयो । 

विशेष गरेर दक्षिण अफ्रिकी मुलुकका जङ्गलमा पाइने यो प्रजातिका दुईवटा बच्चालाई अवैध रूपमा नेपाल ल्याएर किनबेच गर्न थालेको अवस्थामा २०७४ साल असोज ३१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उद्धार गरेको थियो । उद्धार गरिएका बच्चालाई पालन पोषण गर्ने जिम्मा सदर चिडियाखानालाई दिएको थियो । 

सानो खोरमा झण्डै चार वर्ष हुर्केपछि युवा भएका चिम्पान्जीलाई सुविधा सम्पन्न गृहमा राखिएको हो । उद्धार गर्दा भाले बच्चा तीन महिनाको साढे तीन केजी तौल भएको र पोथी बच्चा छ महिना उमेरको चार केजी तौलको थियो । अहिले भालेको तौल २१ केजी र पोथीको २४ केजी छ । चार वर्षदेखि चिम्पान्जीको हेरचाहमा संलग्न सदर चिडियाखानाका कर्मचारी रामकाजी पहरीका अनुसार राति अँध्यारो भएपछि ओछ्यानमा सुत्न जान्छन् । पहरीले भन्नुभयो, ‘‘हेर्दा जनावर हो तर बानी व्यवहार सबै मान्छेको जस्तै लाग्छ । बोल्न नसक्ने भए पनि माया गर्ने, दुःख पर्दा रुने अनि एकअर्कासँग जिस्किने बानी मानिसको जस्तै हुँदो रहेछ ।’’

पहरीका अनुसार भाले कान्छो र पोथी जेठो उमेरको भएकाले पोथी चिम्पान्जीले भालेलाई काखमा राखेर माया गर्छे र भालेले पोथीको लालित्यमा रमाउने गर्छ । सानो बच्चा अवस्थामा सिकाएका सबै कुरा अनुसरण गर्न सफल यो जोडी खेल्दा होस् वा ओछ्यानमा जहिले पनि सँगै बस्ने गरेको दाबी पहरीले गर्नुभयो । 

पहरीले भन्नुभयो, “राति ओछ्यानमा गएपछि एकअर्काले लुगाफाटो ओढाइदिने गर्छन् । बिहाना जुन छिटो उठ्यो उसले अर्काेलाई उठाउने गर्छ । खाना एक्लै नखाने बानी हुँदो रहेछ । खानेकुरा पनि बाँडेर मात्र खाने बानी छ ।’’नाइजेरियाबाट भारत हुँदै नेपाल ल्याइएका ती चिम्पान्जी शुक्रबारदेखि चिडियाखानामा अवलोकन गर्न खुला गरिएको छ । 

 चिडियाखानामा नयाँ र दुर्लभ प्रजातिको वन्यजन्तुलाई खुला गरिएपछि हेर्न आउनेहरूको सङ्ख्यामा बढ्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बताउनुभयो । चिम्पान्जीको वंशाणु मानवसँग ९९.५ प्रतिशतसम्म मिल्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदीले बताउनुभयो । चिम्पान्जीको औसत आयु ४० वर्षको हुन्छ भने वयस्क चिम्पान्जीको अधिक तौल २०० केजीसम्म हुन्छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *