रोग नियन्त्रणमा सबै देशबिच आपसी सहयोग आवश्यक छ : राष्ट्रपति भण्डारी
इन्भेष्टाेपेपर । वैशाख १०, २०७९
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले रोगको नियन्त्रण र उपचारका लागि मुलुक भरका देशबिच आपसी सहयोग हुनुपर्ने बताउनुभएको छ । नेपाल औषधी उत्पादक संघले चितवनमा आयोजना गरेको ‘नेपाल फर्मा एक्स्पो २०२२’को शुक्रवार उद्घाटन गर्दै भण्डारीले महामारी फैलिएको समयमा एउटा देशको प्रयासले समाधान नहुने बताउनुभएको हो ।
‘विश्व व्यापी महामारी, खोप औषधी तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन र वितरण प्रणालीलाई ठुलो चुनौति देखिएको छ । विश्वव्यापी करणको प्रकृया तिब्र बनिरहेको समयमा महामारीको रोकथाम नियन्त्रण र उपचारमा एउटा देशको प्रयासले मात्र प्रयाप्त हुँदैन’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘रोगको नियन्त्रण र उपचारका लागि मुलक भरका देशबिच आपसी सहयोग र सहकार्य गर्न आवश्यक भएजस्तै औषधी उत्पादकको क्षेत्रका बिचमा पनि विश्वका राष्ट्रहरुबिच पारस्परिक सहयोग अभिबृद्धि हुनुपर्दछ ।’
मानव जिवनसंग प्रत्यक्ष जोडिने भएकाले औषधी उत्पादन सेवामुलक परोपकारी व्यवसाय भएकाले व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘मानिसको शारिरीक एवम् आर्थिक जिवनमा औषधी उत्पादक उद्योगले बहुँआयामिक प्रभाव पारिरहेको हुन्छ । अन्तराष्ट्रिय मापदण्ड र गुणस्तरियतामा कुनै पनि सम्झौता नगरि औषधीको उत्पादन, बजारीकरण र वितरणलाई सम्बन्धीत पक्षले विशेष ध्यान दिनुपनुपर्छ’–उहाँले भन्नुभयो ।
सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै मानिसहरुको जिवनस्तर माथि उठाउन औषधी उद्योगले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले धेरै औषधी देशभित्र उत्पादन गर्न सकेमा संविधानले प्रत्याभूत गरेका स्वास्थ्य सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले औषधी उत्पादनमा लगानी बढाउन समेत सुझाव दिनुभएको छ । ‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान भौतिक पूर्वाधारको विकासको तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक छ । औषधी तथा स्वास्थ्य सामाग्रीको समतामुलक उत्पादनका लागि स्थानीय उत्पादनलाई बढवा दिनुपर्ने खाचो छ’–उहाँले भन्नुभयो ।
उहाँले मानव जीवन शैलीमा आएको परिर्वतन, शुद्ध र स्वच्छ खानाको अभाव तथा प्रदुषण बृद्धिका कारण नसर्ने रोगहरुले ठुलो जनसंख्यालाई गाज्दै गएको अवस्थामा औषधी विज्ञानका क्षेत्रमा ठुलो लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले औषधी उत्पादनमा बृद्धि गर्नसकेमा राष्ट्रको अर्थतन्त्रसमेत मजबुद बन्ने धारणा राख्नुभयो ।
‘राष्ट्रिय अर्थतन्त्रसंग औषधी उत्पादनको गहिरो सम्बन्ध छ । ‘स्वास्थ्य सामाग्री र औषधीको आवश्यकता अत्याधिक हुँदै जाँदा आयबृद्धि भई मुलुकको व्यापार घाटामा थप साथ पनि रहेको छ,’ उहाँले भन्नुभयो, ‘औषधी उत्पादनमा लागत घटाउन र अन्तराष्ट्रिय प्रतिस्पर्धालाई लैजान स्वदेशमा रहेका जडिबुटीहरुको व्यवसायीक खेती गरि आर्यआर्जन गर्न सक्षम हुनुपर्छ ।’
