दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने
इन्भेष्टाेपेपर । साउन १९, २०८३
काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उहाँले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराउनुभएको हो ।
पशुपतिनाथका कारण नेपाल भारतबिच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताउनुभयो ।
भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबिचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी भएको सांसद रानाले जानकारी दिनुभयो ।
भारतस्थित नेपाली कांग्रेस निकटको जन सम्पर्क समितिको कार्यक्रममा गएका बेला सांसद राना नेतृत्वको समूहले दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री गुप्तालाई भेटेको हो । सो समूहमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेत्री सुनिता कुँवर, कांग्रेसका युवा नेताद्वय सुशान्त आचार्य र जीवन तिवारीलगायत हुनुहुन्छ । (रासस)
