लेखक र आर्थिक पत्रकारलाई सामना वैकिंग पुरस्कार वितरण

इन्भेष्टोपेपर । चैत्र १५ २०७८

काठमाण्डाैँ । सामना बैंकिङ् पुरस्कार गुठीले १३ औं वार्षिक साधारण सभाको अवसर पारेर बैंकिङ तथा वित्तीय पुस्तक लेखक र आर्थिक पत्रकारलाई सम्मान गरेको छ ।

पुस्तक लेखनतर्फ रु ७५ हजार र पत्रकारितातर्फ रु ४० हजार राशीसहितको यो पुरस्कार र सम्मान पुस्तक लेखनतर्फ ‘बैंकिङ ल इन नेपाल’ का लेखक डा.रेशमराज रेग्मी र ‘नेपालका आधुनिक मुद्राहरुः एक समीक्षा’ का लेखक श्याम खतिवडालाई प्रदान गरिएको छ ।

त्यसैगरी पत्रकारितातर्फ टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र इमेज टिभीका रमेश ढकाललाई प्रदान गरिएको छ । यी पुरस्कारहरु पूर्व गभर्नर द्वय गणेश बहादुर थापा र विजय नाथ भट्टराई, तथा पूर्व महालेखापरीक्षक भानु आचार्यको साथै गुठीका अध्यक्ष डा. रेवत वहादुर काकीसहित चार जनाले उहाँहरु चारै जनालार्ई प्रदान गर्नु भयो ।

गुठीले डिजिटल माध्यम र छापा माध्यम गरेर यो पहिलो पटक दिन लागेको हो । दुई जनालाई पुरस्कार र सम्मान वितरण गर्दै आइराखेको छ । गुठीले प्रत्येक २ वर्षमा बैंकिङ् पुस्तक लेखक र आर्थिक पत्रकारलाई पुरस्कार वितरण गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक सन्देशमार्फत नेपालको आर्थिक पत्रकारिताले ठूलो फड्को मारेको यस्ता संस्थाहरुले प्रदान गर्ने पुरस्कार तथा सम्मानले आर्थिक पत्रकारितामा संलग्नहरुलाई आफ्नो पेशामा निर्भिक भै क्रियाशील हुन हौसला मिल्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले पत्रकारहरुले स्वतन्त्र र निष्पक्षरुपमा सही विश्लेषणलाई जनसमक्ष ल्याउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व गभर्नर गणेशवहादुर थापाले कसैसँग सहयोग नमागी आफ्नै परिश्रम र मेहनतको कमाई समाजमा बाँड्न चाहने डा.रेवतबहादुर कार्कीको सक्रियताले आफूलगायत अर्बौ कमाएर शौखिन जीवन विताउनेहरुलाई समेत केही गर्न हौसला मिल्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी अर्का पूर्वगभर्नर विजयनाथ भट्टराईले सामना बैंकिङ पुरस्कार गुठीले अनुसन्धानमूलक पुस्तक लेखन र आर्थिक क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई पुरस्कृत गर्ने सराहनीय काम गरेको चर्चा गर्दै अहिलेको तरलता संकटलाई भारतको सन् १९८९ मा मनमोहनसिंह गभर्नर हुँदाका बखतको जस्तो भएको र सोबारेमा अध्ययन गरी नेपालको वर्तमान नेतृत्वले समाधन निकाल्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा अनुसन्धनात्मक र विश्लेषणात्मक ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गर्न र यस क्षेत्रको विकासमा योगदान गर्ने उद्धेश्यले सामना बैंकिङ पुरस्कार स्थापना गरिएको गुठीका अध्यक्ष कार्कीले बताउनुभयाे ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा गुठीका अध्यक्ष कार्कीले नेपालमा सबै क्षेत्रमा पुरस्कार वितरण भइराखेको तर बैंकिङ क्षेत्रमा सेवा पुर्याउनेको लागि कुनै सम्मान तथा पुरस्कार वितरण नहुने भएकोले त्यसमा सहयोग पुर्याउनेको लागि सुरु गरिएको बताउनुभयाे । उहाँले यस्तो पुरस्कार वितरणमा सरकारले अन्य पुरकारमा जस्तै कर छुट दिनु पर्ने बताउनुभयाे ।

राष्ट्र बैंकका का.नि.तथा प्रवत्ता डा.गुणाकर भट्टले नेपालमा यस्तो पुस्कार अरु पनि वितरण हुनुपर्ने बताए । यस्तो पुरस्कार वितरणले लेखकलाई प्रोत्साहन मिल्ने र थप अनुसन्धानमा लाग्न प्रेरित गर्ने बताउनु भयाे ।

त्यसैगरी पुरस्कार छनोट समितिका सदस्य तथा आर्थिक पत्रकार समाज सेजनका पूर्वअध्यक्ष गजेन्द्र विष्टले विसं २०४७ पछि आर्थिक क्षेत्रले ठूलो फड्को मार्न सफल भएको, आर्थिक क्षेत्रमा पनि विभिन्न विशिष्टिकृत विधामा विशेषज्ञता बढ्दै गएको, छापा माध्यमका साथै सूचना प्रविधि तथा सफ्टवेयरको विकासले डिजिटल माध्यमहरु र तिनमा विशिष्टिकृत पत्रकारिता तथा सञ्चार माध्यमहरुको संख्या एवं गुणस्तरीयता बढ्दै गएको र यसै क्षेत्रमा क्रियाशील भै जीविका चलाउन सक्ने वातावरण निर्माण भएको सम्बन्धमा चर्चा गर्नुभयो ।

कार्यक्रममा पुरस्कार छनोट समितिका अर्का सदस्य तथा नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक कृष्ण प्रधानले पुस्तक लेखनमा पनि अनुसन्धानमूलक पुस्तकलाई पुरस्कृत गर्ने गरिएको जानकारी दिनुभयो । पुरस्कार छनोट समितिका सदस्य अर्थशास्त्री प्रा डा गोविन्द नेपालले आर्थिक क्षेत्रमा लेखन र पुरस्कार पनि कम रहेको सन्दर्भमा गुठीले लेखकहरुलाई यस क्षेत्रमा लाग्न प्रोत्साहित गरेको धारणा व्यक्त गर्नुभयो ।

गुठीले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका विद्यार्थीलाई बैंकिङ छात्रवृति प्रदान गर्दै आइराखेको छ । त्रिवि केन्द्रीय अर्थशास्त्र विभागमा अध्ययनरत विद्यार्थीलाई १५ हजारका दरले छात्रवृति प्रदान गर्दै आइरहेकोमा यसपाली त्रिवि केन्द्रीय अर्थशास्त्र विभागवाट यस्तो छात्रवृति पाउने विद्यार्थीको नाम आउन नसकेकोले छात्रवृत्ति भने प्रदान गर्न सकिएन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *