बेजोसले यस वर्ष ९८.५ लाख अमेरिकी डलर दान दिने घाेषणा
Investopaper, मंसिर ०८, २०७६
वासिङटन– अमेजनका मालिक जेफ बेजोसले यस वर्ष ९८ दशमलब ५ लाख अमेरिकी डलर दान गर्ने घाेषणा गरेका छन् ।
उनले सहयोग गर्ने यो रकम १ अर्ब १२ करोड ९५ लाख नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । आश्रयस्थलमा बस्दैआएका घरबार विहीन परिवारहरुलाई सहयोग गर्ने ३२ संस्थालाई उनले २०१९ मा उक्त रकम चन्दा दिने घोषणा गरेका हुन् ।

बेजोसले आफ्नै नाममा २०१८ मा सुरु गरेको ‘बेजाेस फेम्ली फाउन्डेशन’को तर्फबाट यस्तो सहयोग गर्दैआएका छन् । घरवार विहीन परिवारलाई सहयोग र बालबालिकाका लागि मन्टेसोरी स्थापना गर्नु उनको फाउन्डेशनको उद्देश्य छ ।
उनले यस वर्षको चन्दा २३ देशका ३२ संस्थालाई दिने भएका हुन् । गत वर्ष बेजोसले २४ संस्थालाई सहयोग गरेका थिए ।
— एजेन्सी
