दरबार हत्याकाण्डको २०औं वर्ष, घटना अझै रहस्यमय
इन्भेष्टोपेपर । जेष्ठ १९, २०७८
आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।
पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।
