आज नेपालमा भूकम्प सुरक्षा दिवस मनाइँदै

इन्भेष्टोपेपर । माघ २, २०७८

काठमाडौँ ।  भूकम्प भन्नेबित्तिकै हामी धेरैको मनमस्तिस्कमा विक्रम संवत् २०७२ वैशाख १२ र १३ गतेको भूकम्पको स्मरण ताजा बनेर आउने गर्छ । तर, त्योभन्दा निकै ठूलो र विनाशकारी भूकम्प विसं १९९० सालमा गएको केही हजुरबुवा पुस्ताले अझै बिर्सन सकेका छैनन् । महाविनाशकारी भूकम्पको स्मरण गर्ने उक्त पुस्ताले महिना दिनभन्दा बढी समयसम्म भूकम्पको धक्का महसुस गरेको र घरबाहिर निकै कठिनाइपूर्वक बस्नुपरेको स्मरण गर्नुहुन्छ ।

नेपाल र भारतको बिहार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर २४ मिनेट २२ सेकेन्डको समयमा गएको उक्त भूकम्पलाई चलनचल्तीमा ९० सालको भूकम्प भनेर स्मरण गर्ने गरिन्छ । उक्त भूकम्पले नेपालमा आठ हजार ५१९ जना र बिहारमा सात हजार १८८ जनाको मृत्यु भएको मेजर जेनेरल ब्रह्मशमशेरद्वारा लिखित नेपालको महाभूकम्प नामक पुस्तकमा उल्लेख छ । त्यस्तै, धरहरालगायतका ऐतिहासिक मठमन्दिर र पुराना दरबारको ठूलो नोक्सानी भएको पुस्तकमा उल्लेख छ ।

भूकम्पबाट आवास गुमाएकालाई राहत प्रदान गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले आफ्नो तर्फबाट तीन लाख रुपियाँ हालेर खोलेको कोषमा विभिन्न व्यक्तिबाट समेत सहयोग हुँदा १० लाख ७५ हजार रुपियाँसम्म जम्मा भएको पुस्तकमा उल्लेख छ । सोही कोषबाट पीडितलाई राहत उपलब्ध गराइएको थियो ।

सोही भूकम्पको स्मरणमा काठमाडौँको भूगोलपार्क निर्माण गरिएको पार्कले आज पनि सोही दिनको स्मरण गराउने गरेको छ । सोही भूकम्पको स्मरण गर्दै सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । सोही क्रममा गृह मन्त्रालयले पाटन दरबार स्क्वायर क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने तयारी गरेको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *