सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । 

पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा झण्डा राख्नुपर्ने छ ।

त्यसैगरी कामपाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सामुदायिक र निजी विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिए ।

नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौँको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिने भएको हो । स्थानीय विषयवस्तु, आवश्यकता र सामग्री उपयोग हुनेगरी स्थानीय पाठ्यक्रम पढाउनुपर्ने भए पनि यसअघि विद्यालयले लागू नगरेकाले कामपाले यस किसिमको व्यवस्था लागू गर्न लागेको प्रमुख कोइरालाले जानकारी दिए ।

विद्यालय व्यस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गर्न लागेको हो । स्थानीयवासीको सबै आवश्यकता केन्द्रीय पाठ्यक्रमले पूरा गर्न नसक्ने भएकाले पनि स्थानीय पाठ्यक्रम आवश्यक रहेको प्रमुख कोइरला बताउँछन् । कामपाले छनोट गरेको पाँच विषयवस्तुमध्ये इच्छानुरूप विद्यालयले एक विषय छनोट गर्न सक्नेछ । एक विषयको पूर्णाङ्क १०० हुनेछ ।

हाल कामपामा ९१ सार्वजनिक र करीब ६४३ संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा एक लाख ६५ हजार बालबालिकाले अध्ययन गर्दै आएका छन् । गोर्खा भूकम्पका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि कतिपय विद्यालय एउटै भवनमा बिहान र दिउँसो गरी दुई समयमा सञ्चालन हुँदै आएको छ ।

-रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *