प्रधानमन्त्रीद्वारा ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार, काे काे मन्त्री बन्नु भयाे त ?
इन्भेष्टोपेपर । आश्विन २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे छ। गएको असार २९ गते प्रधानमन्त्रीको रूपमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले यसअघि पाँच मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त गर्नुभएकाे थियाे।
नव नियुक्त मन्त्रीहरूमा नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल (रक्षा), दिलेन्द्रप्रसाद बडु (कानुन, न्याय तथा संसदीय मामिला), उमा रेग्मी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक), उमाकान्त चौधरी (खानेपानी) र गजेन्द्रबहादुर हमाल (वाणिज्य तथा आपूर्ति मन्त्रालय) हुनुहुन्छ।
यसअघिका कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइएको छ। वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनु भएका गजेन्द्रबहादुर हमाल सांसदभन्दा बाहिरबाट मन्त्री बनाइनु भएकाे हाे ।
यसैगरि नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवम् महेश्वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ। बोधमाया कुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाइएको छ।
त्यस्तै अर्काे घटक एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, रामकुमारी झाँकी सहरी विकास, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री र कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ। स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त हुनुभएकाे छ।
जसपाबाट सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव, वन तथा वातावरण मन्त्रीमा रामसहाय यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा महिन्द्र राय यादव नियुक्त हुनुभएकाे छ।
याे विस्तारसंगै मन्त्रीहरूकाे संख्या २५ पुगेकाे छ भने स्वास्थ्य राज्यमन्त्री रहनुभएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा लगिएको छ।
