मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामग्री

न्भेष्टाेपेपर । माघ २६, २०८०

भरतपुर । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल सामग्री दिइएको हो ।

भरतपुर महानगरपालिका सभाहलमा आयोजित कार्यक्रममा मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायतले सहभागी विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरे ।

उक्त अवसरमा मेयर्स कप क्रिकेट विजेताले प्राप्त गर्ने रनिङ ट्रफीसमेत अनावरण गरिएको छ । २० टिम सहभागी प्रतियोगिता जित्नेले रनिङ ट्रफी पाउने छ ।

एक्सपर्टले कुल ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री र गेम जर्सी प्रायोजन गरेको छ । त्यसमध्ये खेल सामग्री १० वटा सामुदायिक विद्यालयले प्राप्त गरेका छन् भने राउण्ड रोबिन लिग खेल्ने १० टिमले फागुन ४ गते जर्सी पाउने छन् ।

‘ग्रासरुट क्रिकेट’ विकास गर्ने अभियानका साथ चितवन जिल्ला क्रिकेट संघको सहआयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा भरतपुर महानगरपालिकाले यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता टि–२० फम्र्याटमा खेलाइने छ ।

यस प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक र १० संस्थागत माध्यमिक विद्यालय गरी कुल २० टिमले सहभागिता जनाउने छन् । तिनीहरूलाई दुईवटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । यो चरणमा कुल १० खेल हुने छन् । नकआउट चरणबाट ५ सामुदायिक र ५ संस्थागत विद्यालय दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

फागुन ४ गतेदेखि दोस्रो चरण सुरु हुने छ । जसमा नकआउट पार गरेका १० टिमलाई गोलाप्रथाद्वारा दुई समूहमा विभाजन गराइने छ । ५–५ टोली रहने दुई समूहहरूलाई अन्तरसमूह राउण्ड रोबिन विधिमा लिग खेलाइने छ । समूहका उत्कृष्ट २–२ टोली सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगितामा कुल ३५ खेल खेलाइने छ ।

‘भरतपुर मेयर्स कप रनिङ ट्रफी’का साथमा मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेतालाई क्रमशः ६० हजार र ३० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री प्रदान गर्ने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *