प्रत्यक्ष वैदेशिक लगानीका निर्णायक तत्वः राजनीतिक स्थायित्व, लगानी सुरक्षा र प्रतिफल

Investopaper, चैत्र १६, २०७५

काठमाडौं : प्रत्यक्ष वैदेशिक लगानीका लागि जोखिमको स्तर र प्रतिफल नै निर्णायक कारक रहने गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ। विश्व बैंकको ‘विदेशी लगानीकर्ताको दृष्टिकोण र नीतिगत प्रभावकारिता’ विषयक प्रतिवेदन अनुसार लगानीकर्ताको निर्णयमा राजनीतिक स्थायित्व र लगानीको सुरक्षाले सबैभन्दा ठूलो प्रभाव पारेको हुन्छ।

‘विदेशी लगानीकर्ताले कुनै पनि मुलुकमा लगानी गर्दा बजारको आकार, बृहत् आर्थिक स्थायित्व र अनुकूल विनिमय दर, कामदारको सीप र दक्षता, भौतिक पूर्वाधारभन्दा अघि दुईओटा मुख्य पक्षलाई हेर्ने गर्छन्,’ प्रतिवेदनमा भनिएको छ।

पहिलो, राजनीतिक स्थायित्व र लगानीको सुरक्षा।

दोस्रो, कानुनी तथा नियामकीय वातावरण। ‘उनीहरूले कानुनी र नियामकीय व्यवस्था कत्तिको व्यवसायमैत्री छ भनेर हेर्छन्। विश्व बैंकले विदेशी लगानीकर्तामाझ गरेको सर्वेक्षणले ८६ प्रतिशत लगानीकर्ताले व्यावसायमैत्री वातावरणलाई आधार मान्ने गर्छन्।

यी दुई पक्षमा अनुकूल नभए त्यी मुलुकलाई विदेशी लगानीकर्ताले लगानी अनुकूल मान्दैनन्। फलतः त्यी देशहरूमा वैदेशिक लगानी आउँदैन। नेपालले संविधान जारी गरी नयाँ राजनीतिक संरचनामा तीन तहको निर्वाचन सम्पन्न गरेपछि राजनीतिक स्थायित्व तथा नियामकीय र कानुनी सुधार गर्ने प्रतिबद्धताले नेपालप्रति लगानीकर्ताको चासो देखिएको हो।

विश्व बैंकको सर्वेक्षणअनुसार ४२ प्रतिशत लगानीकर्ताले बजारको आकार अत्यन्त महत्त्वपूर्ण मानेका छन्। त्यस्तै, ३४ प्रतिशतले बृहत् आर्थिक स्थायित्व र अनुकूल विनिमय दरमाथि पनि लगानी गर्ने या नगर्ने निर्णय निर्भर रहने बताएका छन्। तर, ४४ प्रतिशत लगानीकर्ताले बृहत् आर्थिक स्थायित्व र अनुकूल विनिमय दर पनि लगानीको लागि महत्त्वपूर्ण तर लगानीका लागि बाधक भने नरहेको बताएका छन्।

नेपालमा करका दरको विषयलाई लिएर लगानीका लागि बाधक हो या होइन भन्ने बहस भइरहेका बेला विश्व बैंकको यो अध्ययनले भने १९ प्रतिशत लगानीकर्ताले मात्र कम करका दर भएका मुलुक लगानीको निर्णयका लागि अत्यन्त महत्त्वपूर्ण भनेका छन्। बरु २८ प्रतिशतले दक्ष र सीपयुक्त जनशक्ति नै अत्यावश्यक भएको बताएका छन्।

२५ प्रतिशत लगानीकर्ताले स्तरीय भौतिक पूर्वाधार अत्यन्त महत्त्वपूर्ण रहेको भनेका छन् भने ४६ प्रतिशतले स्तरीय भौतिक पूर्वाधार महत्त्वपूर्ण तर लगानीको निर्णयलाई यसले प्रभावित नगर्ने बताएका छन्।

त्यस्तै, १८ प्रतिशत लगानीकर्ताका लागि श्रमिक तथा उत्पादन साधनको न्यून लागत अत्यन्त महत्त्वपूर्ण छ भने ४६ प्रतिशत लगानीकर्ताका लागि श्रमिक तथा उत्पादन साधनको लागतले लगानीलाई प्रभावित नगर्ने बताएका छन्।

त्यसैगरी, १४ प्रतिशतले घरजग्गामा स्वामित्व र १७ घरेलु बजारबाट वित्तीय सेवा अत्यावश्यक भनेका छन् भने ५४ प्रतिशतले घरजग्गामा स्वामित्व आवश्यक नभएको र ५५ प्रतिशत विदेशी लगानीकर्ताले घरेलु बजारको वित्तीय सेवा आवश्यक नभएको बताएका छन्। याे समाचार आजकाे अन्नपूर्ण पाेष्टमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *