पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज

न्भेष्टाेपेपर । असार ६, २०८०

काठमाडौँ ।  गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ। 

पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले भन्नुभयो, “फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्र्यागन बोट रेस फेस्टिभल’ लाई लक्षित गरेर सिचुवानले बुधबार चार्टर्ड उडान गर्न लागेको हो। बुधबार बिहान ९:३० बजे पोखरामा अवतरण हुने उक्त उडानमार्फत फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु अवतरण गर्दै छन्।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सिचुवानको एयरबस ए–३१९ विमानमार्फत १३० जना यात्रु पोखरा विमानस्थलमा अवतरण हुने छन्। उक्त विमान करिब दुई घण्टा पोखरामा विमानस्थलमा बसेर काठमाडौँ हुँदै बुधबारै चीनको छेङ्दु फर्किने छ।

उहाँले भन्नुभयो, “सोही उडानमार्फत हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसदहरू प्रदीप यादव, धवलशमशेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशङ्कर चौधरी र जीवन परियारसहित नौ जना समेत पोखरामा अवतरण गर्नुहुनेछ।” 

पोखराबाट छेङ्दुमा व्यावसायिक उडानका लागि हाल हिमालय एयरलाइन्सले आन्तरिक तयारी गरिरहे पनि अन्य विदेशी हवाई कम्पनी उडान अनुमतिको प्रक्रियामा नआएको प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयो। त्यस्तै गरी भारततर्फ सिधा उडानका लागि प्रधानमन्त्रीको भारत भ्रमणपछि पुनः अनुमति मागिएको र कूटनीतिक रूपमा छलफल भइरहेको छ। विमानस्थल व्यावसायिक उडानका लागि तयार रहे पनि हवाई इन्धन भण्डारण डिपो बन्न नसक्दा अहिले झन्डै छ किलोमिटर टाढाको पुरानो विमानस्थलबाट ल्याएर जहाजमा इन्धन भर्नुपर्ने अवस्था छ। त्यस्तै गरी फ्लाइट क्याटरिकको जिम्मा लिएको सोल्टी क्राउनले समेत पूर्वाधार तयार गरिसकेको छैन।

हाल यो विमानस्थलमा आन्तरिकतर्फका बुद्ध, यती र सौर्यले नियमित उडान गर्दै आएको छ। विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो।

विमानस्थलमा न्यारो बडी एयर बस–३२०, बोइङ–७३५ विमान उडान र अवतरण गर्न सक्छन्। दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिने जनाइएको छ। यो विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अवतरण, बिसान, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिएको छ। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *