गण्डकी गाउँपालिकाले शुरु गर्याे घरेलु मदिराकाे ब्राण्डिङ

न्भेष्टाेपेपर । पुस २२, २०८१

सुलीकोट ।  गोरखाको गण्डकी गाउँपालिकाले घरेलु मदिरा लोकल रक्सी ब्राण्डिङ सुरु गरेको छ । गाउँपालिकाले गण्डकी कोदोको रक्सी नाम दिएर गण्डकी गाउँपालिका र स्थानीय बजारमा घरेलु मदिरा उत्पादन गरी बजारमा बिक्री वितरण गर्न सुरु गरिएको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमेल्सनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार गण्डकी गाउँपालिकाले मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा २ वटा वडाको २ वटा महिला समूहलाई दिइएको उहाँले बताउनुभयो । पालिकाले वडा नम्बर २ को जलकन्या देवी कृषक समूह र वडा नम्बर ६ को चिसापानी महिला समूहले लोकल रक्सी उत्पादन र ब्राण्डिङ गर्ने काम गरिरहेका गाउँपालिकाका अध्यक्ष तिमल्सेनाको भनाइ छ । 

गाउँपालिकाले २ वडाका महिला समूहहरुलाई १५ दिने तालिम तथा घरेलु मदिरा उत्पादनको लागि तालिम दिइएका महिला समूहहरुलाई उत्पादनका लागि आवश्यक भाँडाकुँडा पनि वितरण गरिएको बताइएको छ । 

गाउँपालिकाले कोदो र रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत कोदो उत्पादनसम्बन्धी तालिम र रक्सी बनाउने भाडाँकुँडासहित बोत्तल र स्टिकर पनि दिएको गण्डकी गाउँपालिकाले जनाएको छ । अहिले गण्डकी गाउँपालिकाका किसानले कोदो उत्पादन गरी २ महिला समूहलाई बेच्ने किसानलाई प्रतिकेजी ५ रुपियाँ अनुदान दिँदै  आएको गण्डकी गाउँपालिकाका अध्यक्ष तिमल्सेनाले बताउनुभयो । 

गाउँपालिकाले स्थानीय रुपमा उत्पादन भएकाे मदिरालाई प्रोत्साहन गर्नका लागि तथा बाहिरबाट आएकाे रक्सीलाई विस्थापित गराउन चालु आर्थिक वर्षबाट बजेट विनियोजवन गरी काम अघि बढाएकाे गाउँपालिकाले जनाएकाे छ । २ वटा महिला समूहले शुद्ध कोदो र जडीबुटी मिसाएर उत्पादन गरिएको रक्सीलाई मेसिनमा राखेर अल्कोहलको मात्रा नापिन्छ, गाउँपालिकाका अध्यक्ष तिमल्सेनाले भन्नुभयो, “नापिसकेपछि लेबल ठिक भए त्यसलाई ब्राण्डिङ गरेर बोत्तलमा राखी बोत्तलको बाहिरपट्टि गण्डकी ब्राण्ड नामको स्टिकर राखेर स्थानीय बजारमा लगिन्छ ।” 

गण्डकी गाउँपालिकाभित्रका स्थानिय बजारहरुमा लोकल ब्राण्ड रक्सी बनाउन थालेपछि अहिले बाहिरबाट ल्याइएका रक्सी आयात हुन छोडेको वडा नम्बर २ का अध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । अहिले महिला समूहले उत्पादन गरेको लोकल रक्सी पातिस्वाँरा मनमोहक होमस्टे साथै स्थानिय बजार तथा पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट फिसलिङ लगाएतका ठाउँमा माग बढिरहेको वडा अध्यक्ष थापाको भनाइ छ । 

गण्डकी गाउँपालिकाभित्रका  दिदीबहिनीहरुलाई स्वरोजगार बनाउनुका साथै आयआर्जनमा वृद्धि गरी आर्थिक उपार्जनमा टेवा पुर्‍याउनका लागि गाउँपालिकाले कार्यक्रम अघि बढाएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईंले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *