मुटुरोगकाे समस्या भयावह बन्दै

न्भेष्टाेपेपर । आश्विन १३, २०८२

बर्दीबास ।  ‘एक धड्कन पनि न चुकौं’ (डोन्ट मिस अ विट) भन्ने मूल नारासहित आज बर्दीबासमा विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै ‘विश्व मुटुरोग दिवस’ मनाइएको छ । 

यस अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरी र बर्दीबासस्थित शुभ स्वस्तिक असपतालले आयोजाना गरेको निशुल्क शिविरमा स्वास्थ्य परीक्षण गराउनेको भीड लागेको छ भने रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ । 

बद्लिँदो जीवनशैली, खानपानमा लापरबाही र तनावपूर्ण दैनिकीका कारण प्रमुख स्वास्थ्य समस्या बन्दै गएको मुटुरोगप्रति आम नागरिकलाई जागरुक बनाउन विविध कार्यक्रमसहित विश्व मुटु रोग दिवस मनाइएको प्रतिष्ठानका महोत्तरी अध्यक्ष दीपक कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्वस्थ्य आनीवानी परित्याग गरि स्वस्थ्य जीवनशैलीप्रति प्रेरित गर्ने सन्देश दिन यो दिवस मनाइएको हो ।’

यस अवसरमा ‘स्वस्थ्य हृदय, सुखी जीवन, ‘मेरो प्यारो मुटु सधैं धड्कीरहोस’ ‘मृगौला बचाऔं, मुटु जोगाऔं’ जस्ता चेतनामुलक प्लेकार्डसहित सुरु भएको र्‍याली बर्दीबास बजार परिक्रमा गरि भोला वसन्त चोकमा आई कोण सभामा परिणत भएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै बर्दीबास असपतालका डा रितेस घिमिरेले मुटु रोग पहिले बुढापाका, सहरीया र ऐयाशीहरुलाई लाग्ने सोच रहेपनि पछिल्लो समय युवा समुदाय, ग्रामिण नागरिक र  सर्वसाधारणमा पनि मुटु रोगको चपेटामा परेको बताउनुभयो । जथाभावी खानपान, मदिरा र सुर्तिजन्य पदार्थको सेवन, निष्क्रिय दिनचर्या, शारीरिक श्रमको कमी जस्ता कारणले मुटु रोग बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी बर्दीबास ९ का ३० वर्षिय मुटु रोगी मनोज महतोलाई देखाउँदै डा घिमिरेले भन्नुभयो, “अब मुटु रोगले उमेर चिन्न छाडेको छ । यो ‘साइलेन्ट किलर’ हो, जसले थाहै नपाई ज्यान लिन्छ। समयमै परीक्षण र सतर्कता नै सुरक्षा हो ।” 

उहाँले नियमित मुटु परीक्षण, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र ईसीजी जस्ता जाँच आवश्यक रहेको बताउँदै रोग लागेपछि होइन, रोग नलाग्नै सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि एवं प्रदेश सांसद शारदा देवी थापाले स्वस्थ समाज निर्माणका लागि स्वस्थ मुटु आवश्यक भएको उल्लेख गर्दै यस्ता दिवसहरूले जनचेतना फैलाउन योगदान पुर्‍याउने बताउनुभयो ।

त्यस्तै समाजसेवी सीताराम ढुङ्गेल, गुञ्ज कार्की गोपाल तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष भोजप्रसाद फुयालले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ भोजन, व्यायाम र तनावमुक्त जीवनशैलीले मुटु रोगबाट जोगिन सकिने भन्दै यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *