मन्त्री बिना मगर द्वारा ‘वाटर एटीएम’ उदघाटन: नेपालीमा नाम राखियाे ‘पँधेरो’ !

Investopaper, फाल्गुन २२, २०७५

ललितपुर – काठमाण्डाै उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएमको उद्घाटन गरिएको छ ।

खानेपानी मन्त्री बिना मगरले मंगलबार नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उहाँले एटीएमबाट पानी निकालेर पिउनुभएको थियो । यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिनुभयो ।

पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाण्डाै उपत्यकाका बीस ठाउँमा जडान गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताउनुभयो । उद्घाटनपछि कार्यक्रममा बोल्दै मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिइ कहीँ कतै चुक्न नदिन बोर्डलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले किनेर खाने बोतलको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।’

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । यस एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ ।

यस एटीएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटीएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *