‘एनआरएन द सिङ्गर’ को उद्घाटन

इन्भेष्टोपेपर । असार १४, २०७

लन्डन — विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली सङ्घले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य रुपमा उद्घाटन गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा सङ्घका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिएको बताउनुभयो ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने बताउनुभयो । प्रिअडिशनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ ।

प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ । त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुने बताइएको छ । कति अडिशन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुने गौतमको भनाइ थियो ।

निर्णायक समितिका प्रमुख निर्णायक बाँस्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक साङ्गीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इँटा थप्ने भनाइ राख्नुभयो । 

कार्यक्रममा निर्णायक शम्भु राई, आइसिसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटनपछि प्रिअडिशन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपाली भाषी अग्रज र अनुजका स्वर प्रतिभा पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ शुरु गरेको हो ।

कार्यक्रममा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु सात लाख र तृतीय पुरस्कार रु चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिङ्गर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिङ्कसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।   

‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार  बाँस्कोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहनुभएको छ ।

वरिष्ठ सङ्गीतकार तथा निर्णायक मण्डलका प्रमुख निर्णायक  बाँस्कोटाले विश्वभरि छरिएका नेपाली सङ्गीतकर्मी र कलाकारलाई कार्यक्रममा जोड्न सुझाव दिँदै यो कार्यक्रमले नेपाली कला क्षेत्रलाई माथि पु¥याउने र नेपाली भाषीलाई नेपाली गीतसङ्गीत सिक्न प्रोत्साहित गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा पत्रकारले राखेका जिज्ञासाको मूल आयोजक समितिका हिक्मत थापा, गोविन्दप्रसाद गौतम,  गणेशराज गौतम, रमण झा लगायतले जवाफ दिएका थिए । यो कार्यक्रमको सहउत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवी टेक्नोलोजी प्रविधि पार्टनरका रुपमा रहेका छन् ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सचिव खड्ग न्यौपानेले गर्नुभएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *