भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
इन्भेष्टाेपेपर । साउन ३१, २०८३
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चार दिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै हुनुहुन्छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रधान हुनुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।
भोलि नै प्रधानसेनापति द्वयबिच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । नेपाल र भारतबिचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धमध्ये एक हो । दुवै देशका सेनाबिच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ ।
विशेषतः दुवै देशका सेना प्रमुखलाई एक अर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबिचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । नेपालका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो । यसलाई नेपाल–भारतबिचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ । (रासस)
