लगानी बोर्डद्वारा ६४ अर्ब लगानी स्वीकृतः अन्य आयाेजनाकाे काम अघि बढदै
Investopaper, श्रावण १८, २०७६
लगानी बोर्डले झापाको दमकमा निर्माण हुने नेपाल–चाइना फ्रेन्डसिप इन्डस्ट्रियल पार्क परियोजनाका लागि ६४ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको ३९औँ बोर्ड बैठकले लगानी स्वीकृत गरेको हो ।
ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ–पिङ जाइन्ट क्रियसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनीले गर्न लागेको लगानी स्वीकृत गरेको हो । उक्त कम्पनीलाई बोर्डले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्नसमेत स्वीकृति प्रदान गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।
अन्य आयाेजनाकाे काम अघि बढदैः
बैठकले विराटनगरमा निर्माण तथा सञ्चालन गर्न प्रस्ताव गरिएको मल्टी मोडल लजिस्टिक पार्क परियोजना स्वीकृत गरेको छ । उक्त परियोजनाको अध्ययन गर्न बोर्डले सिजी लजिस्टिक प्रालिलाई अनुमति दिएको छ । उक्त परियोजना निर्माणका लागि लगानी सम्मेलन २०१९ का अवसरमा सिजी लजिस्टिक र युएईको सर्राफ ग्रुपबीच समझदारीसमेत भएको थियो ।
त्यस्तै, जनकपुरमा निर्माण तथा सञ्चालनको प्रस्ताव गरिएको रेल्वे लिंक्ड प्राइभेट फ्रेट टर्मिनल परियोजना स्वीकृत गरेको छ । उक्त परियोजना अध्ययनका लागि ग्रिन इन्फ्रास्टक्चर प्रालिलाई अनुमति दिने निर्णय बैठकले गरेको छ ।
तमोर आयोजना विकासका लागि दुई कम्पनीसँग प्रस्ताव माग गरिनेः
यसैगरी, ७५७ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका लागि एचआइडिसिएलसँग जोइन्ट भेन्टर रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड र नेब्रास पावर कतार होल्डिङसहितको जोइन्ट भेन्चर रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णय गरेको छ । याे समाचार आजकाे नया पत्रिकामा छ ।