हिमालय उर्जा विकास कम्पनीकाे आईपीओ निष्काशनः ५० कित्ता देखि ६ हजार ५ सय कित्तासम्म आवेदन दिन सकिने
Investopaper, चैत्र २०, २०७५
आजदेखि हिमालय उर्जा विकास कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई जारी गरेकाे शेयरमा लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम ६ हजार ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कूल १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयरमध्ये ३ प्रतिशतले हुने ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
नबिल इन्भेस्टमेन्ट क्यापिटल बिक्री प्रबन्धक रहेकाे यस निष्काशनमा लगानीकर्ताले छिटोमा चैत्र २५ र पर्याप्त आवेदन नपरे ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने छन् । संस्थापक, सञ्चालक तथा आयोजना प्रभावित स्थानीयबासिन्दाले आईपीओ भर्न नपाउने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ रेटिङ्ग गरेको छ । कम्पनीले रामेछाप र दोलखामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपरखिम्ती आयोजना निर्माण गरिरहेको छ । आईपीओ बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी ९९ करोड रुपैयाँ पुग्ने छ ।
मेराे शेयर मार्फत घरमै बसेर, विक्रि प्रवन्धककाे कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट आवेदन दिन सकिनेछ ।
