“काठमाण्डौ”
– हृदय लेकाली
सुनेको छु
देशको सौदावाजी गर्नेहरु
कुर्सी र पदको बार्गेनिङ गर्नेहरु
अकुत सम्पत्ति तर लाउनेहरु
सिँहदरबार धाउनेहरु
सुनका बिस्कुट र हीरा मोती पचाउनेहरु
प्रायजसो ओहोर दोहोर गर्छन काठमाण्डौ !
त्यति मात्र कहाँ हो र?
आफ्नो योग्यताको सर्टीफिकेट लिलामी राख्न
कतै जागिर पाइने आशामा
बाँचे आश मरे लाश
भन्दै लाखौँ युवाहरु
विदेशीन धाउँछन् काठमाण्डौ !
यति हो काठमाण्डौले
कतिलाई विदेशीन उक्सायो
कतिलाई निरीह बाँच्न सिकायो
कतिलाई सिङ्गो देशै लुट्न सिकायो
कसैका बनेका घर भत्कायो
कसैका नयाँ नयाँ शिशमहल बनायो
बैगुनी भनौ भने दिएकैछ काठमाण्डौ !
अभावै अभाव, प्रदूषणै प्रदूषण
शोकै शोक, भोकै भोक
रोगै रोग काठमाण्डौ !
अँ साँच्ची गरिब निरीह बेसहारा मान्छेहरु
तपाइँहरु कसरी बाँच्नु भा छ त्यहाँ
दिन रात कसरी काट्नु भा छ त्यहाँ
मलाई त काठमाण्डौको आँगन टेक्न
तपाई हामीलाई होच्याउने सभ्यता देख्न
पटक्कै मन लाग्दैन
काठमाण्डौ काठमाण्डौ जस्तो लाग्दैन ।
तर खै किन बाध्यता पार्छ
नआई नहुने , नधाई नहुने
काठमाण्डौ !