कविता : जल्दै गरेको म छु
— अस्मित भुसाल,स्याङ्जा
छन्द :- शार्दूलविक्रीडित
छोडी खेत,भुईँ र आलयहरू मर्नै पर्यो आखिर
के भिर्छौ कपडा लता र गहना सौन्दर्यका खातिर ।
लाखौँ छन् घरमा परन्तु किन हो रित्तो बनेको म छु
खाली छन् बगली र नग्न वयमा जल्दै गरेको म छु ।।
(१)
मिथ्या प्रेम रहेछ यी मनुजको झूटै छ संसार यो
छोड्छन् साथ अवश्य मृत्यु मुखमा सेहार्द बेकार हो ।
गर्छन् प्यार करोडले तर यहाँ एक्लै परेको म छु
हेर्दैछन् त सबैजना पर बसी जल्दै गरेको म छु ।।
(२)
बाँच्नेछन् वर साथ पीपल कुवा पाटी र पौवा पनि
बाँच्नेछन् रचना र काव्य कविता अस्तित्व मेरा बनी ।
मेरो नाम सधैँ अमर्त्य छ यहाँ मुर्दा बनेको म छु
मेरा कर्म सजीव छन् भुवनमा जल्दै गरेको म छु ।।
(३)
यो धर्ती मुछिएछ लोभ मममा सेखी अहङ्कारमा
बिक्छन् मानवता इमान ममता यो गृध्र संसारमा
के गर्छौ अब राजनीति शवमा ढुङ्गो बनेको म छु
मेरो पाप कुकर्म मर्छ म सँगै जल्दै गरेको म छु ।।
(४)
अस्तायो रवि,सूर्य त्यो सगरको आभा छरे तापनि
मुर्झायो नव फूल त्यो विपिनको बास्ना छरे तापनि ।
मर्दै छन् अभिमान,लालच सबै मर्दै गरेको म छु
खोक्रो,निर्जन,धूल,शून्य म बनी जल्दै गरेको म छु ।।
(५)
