तिलिचोभन्दा अग्लोमा ताल !

Investopaper, श्रावण १०, २०७६ 

लमजुङ — पर्यटन प्रवर्द्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरूले गाउँपालिकाका विभिन्न ठाउँको गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याम्प नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बूढापाकासँग सोधे ।

गोठालाहरूले ताल छ भनेपछि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैरु गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो ।

उनीहरू दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चामेका इन्स्पेक्टर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) बाट उचाइ नापे ।

५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रस्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो ठाउँमा अर्को ताल पनि रहेछ । ‘हामी साउन ५ गते चामेबाट हिँडेका थियौं । ६ गते पुग्यौं । हेर्‍यौं र छोटो बाटो ७ गते नै झर्‍यौं,’ गाउँपालिका अध्यक्ष घलेले भने, ‘ताल निकै मनमोहक छ ।’

यो ताल तिलिचोभन्दा उचाइमा रहेको बारे सरकारको आधिकारिक निकायले पुष्टि गर्न भने बाँकी छ । ताल भएको ठाउँ चामे गाउँपालिका ४ मा पर्छ । तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ करिब ६ सय मिटर रहेको उनीहरूको अनुमान छ । गहिराइ भने अनुमान गर्न सकिएको छैन ।

उक्त क्षेत्रलाई ‘सिंगर’ भनिएकाले स्थानीयले तालको नाम पनि ‘सिंगर’ राखेका छन् । स्थानीयले याक, चौंरी एवं भेडा चराउने खर्कलाई सिंगर भन्ने गरेको अध्यक्ष घलेले बताए ।

हिमालबाट हिउँ पग्लिएर आएको पानीले ताल बनेको छ । करिब ४० वर्षअघि जापानीहरूले लमजुङ हिमाल चढेको स्थानीय बूढापाकाले सुनाएको घलेको भनाइ छ । उनीहरूले नै उक्त तालको नाम गुगलमा ‘कजिनसारा लेक’ राखेको हुन सक्ने उनको भनाइ छ ।

‘यो अध्ययनकै विषय हो । हामीले पर्यटन प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेका मात्रै हौं,’ उनले भने ।ताल चामेबाट २४ किलोमिटरको दूरीमा रहेको लम्सालले बताए । लमजुङ हिमालको पूर्वी मोहडामा पर्ने यो ताल सिंगर हिमालको उत्तरपूर्वी मोहडामा पर्छ ।

चामे गाउँपालिकाले पर्यटकीय गन्तव्य र प्राकृतिक संरक्षणको अभियान लिएर स्रोतको खोजी गर्ने क्रममा तालमा पुग्न सफल भएको अध्यक्ष घलेको भनाइ छ । गाउँपालिका, प्रशासन, प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रतिनिधिलगायतको टोली उक्त तालको अध्ययन अवलोकनका लागि गएको थियो ।

‘ताल पुग्न आफैंले खाना र बासस्थानको व्यवस्था गर्नुपर्ने देखियो । ठाउँठाउँमा भेडी गोठ तथा चौंरी गोठ छन् । तर ठूलो समूहमा जाँदा ती पर्याप्त छैनन्,’ अध्यक्ष घलेले भने, ‘यसको प्रवर्द्धनमा के गर्न सकिन्छ भनेर छलफल थालेका छौं ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने मनाङमा धेरै ताल रहे पनि तिनको यकिन तथ्यांक पाइँदैन । मनाङमा सानाठूला गरी ५० बढी ताल रहेको अनुमान छ ।

  • कान्तिपुर दैनिकबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *