नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
Investopaper, असार २3, २०७६
काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । सतर्कता केन्द्रका अनुसार १८ माघ २०६२ मा पाल्पा दरबारमा आगलागी हुँदा मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएका थिए ।
तत्पश्चात् १२ असार २०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ । सोही निवेदनको आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो । यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ ।
केन्द्रको छानबिन प्रतिवेदनअनुसार २०६० सालमा मिसिल नम्बर ३६० खडा गरी कित्ता ६६० अन्तर्गत मोही महालक्ष्मी श्रेष्ठ कायम भएको पुर्जा प्राप्त गरेको देखिन्छ । सोही आधारमा ५ असोज २०७२ मा मालपोत कार्यालयको निर्णयले मोही नामसारी हुन गएको मालपोतको रेकर्डमा पाइएको थियो । हाल सो कित्ता तारामान श्रेष्ठ, निलम श्रेष्ठ र तानसेन नगरपालिका–७ को नाममा नामसारी भइसकेको छ ।
पुराना स्रेस्ता जलेपछि नयाँ स्रेस्ता कायम गर्ने क्रममा साविकमा कायम रहेको कित्ता नम्बर १६६ कित्ताकाट भई ६६० नम्बर कायम भएको छ । त्यस्तै, कित्ता नम्बर ६६१ मा रहेको ८ रोपनी १० आना जग्गाको मोही महलमा चक्रमाणि पाण्डे, थाबहादुर श्रेष्ठ र दुर्गाबहादुर थापाको नाममा मालपोत कार्यालयमा दर्ता भएको छ । यस क्रममा स्रेस्ता कायम गर्न सम्बन्धित पक्ष नै नआएको केन्द्रको छानबिनमा देखिन्छ । तर, यो कित्ता मालपोत कार्यालयमा भने स्रेस्ता कायम नभएको पाइएको केन्द्रले स्पष्ट पारेको छ ।
त्यस्तै, कित्ता नम्बर ४६७ को करिब १२ रोपनी १० आना जग्गा रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठ भएको दर्ता किताबमा पाइएको प्रतिवेदनमा उल्लेख छ । कित्ता नम्बर ४६४ को ३० रोपनी जग्गा जंगल र ४६६ बगैंचाको नाममा सरकारी÷सार्वजनिक भएको रेकर्ड पाइएको छ ।
नयाँ स्रेस्ता कायम गर्ने क्रममा कागजातमा अंशबन्डा, लिखत आदि कागजात सम्बन्धित पक्षसँग माग नै नगरी लालपुर्जा मात्रको आधारमा नामसारी गरिएको थियो । सतर्कता केन्द्रका अनुसार माफियाले गुठीबाट रैकरमा परिणत गरी व्यक्तिगत बनाउने योजनालाई मालपोत कार्यालय पाल्पाका कर्मचारीले साथ दिएका थिए ।
थप छानबिनका लागि अख्तियारलाई जिम्मा
यस प्रकरणलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताए । अर्यालका अनुसार यस प्रकरणमा संलग्न कर्मचारीका सम्बन्धमा अख्तियारले छानबिन जारी राखेको छ । यस सम्बन्धमा थप छलफल गर्नुपर्ने आयोगले सुझाव पेस गरेको छ । याे समाचार आजकाे राजधानी दैनिकमा केशव प्रसाद पाण्डेले लेखेकाछन ।
