“महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक
इन्भेष्टोपेपर । श्रावण २९, २०७८
काठमाडौँ । प्रत्येक आमा/ बावुले आफ्नो बच्चाको उज्वल भविश्यको सपना साकार पार्ने मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक गरेको छ ।
बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको लागि सुभारम्भ गर्नु भयो । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ ।
बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।
यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५% बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५% बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।
