नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जरकाे सम्झाैता

इन्भेष्टाेपेपर ।  जेठ २८, २०७९

काठमाण्डाैँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच शुक्रवार एकआपसमा गाभ्न गाभिनको लागि (मर्जर) काे सम्झाैता भएकाे छ । उक्त प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गर्नु भयो ।

दुवै बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पूँजी रु.१८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पूँजी रु. १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु.३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष रु. १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैँकका अध्यक्षहरुले जानकारी गराउनु भएको थियो । वहाँहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *