अनलाइनबाट घरजग्गाको वास्तविक मूल्य दिन एमएलएस सिस्टम सञ्चालन गरिने
घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल रियल स्टेट अर्गनाइजेसन (एन–रियो) गठन गरिएको छ । पछिल्लो समय देशमा घरजग्गा कारोबारमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको भन्दै त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मूल्य पत्ता लगाउन नयाँ संस्था गठन गरिएको एन–रियोका अध्यक्ष नरेश सिंहले जानकारी दिए । उनले भने, ‘संस्थाले घरजग्गा खरिदकर्ता तथा बिक्रीकर्तालाई वास्तविक मूल्य जानकारी दिन मल्टी लिस्टिङ सिस्टम (एमएलएस) तयार गरेको छ ।’
उक्त सिस्टममा ब्रोकरले कुनै पनि व्यक्तिले बिक्री गर्न लागेको घरजग्गाको वास्तविक मूल्य राख्नेछ भने सोही आधारमा कुनै पनि व्यक्तिले खरिद गर्न सक्नेछ । एमएलएस सिस्टममा उक्त संस्थामा आबद्ध भएका सबै ब्रोकरहरूले बिक्रीका लागि आएका घरजग्गाको विवरण अपलोड गर्न सक्नेछन् ।
कार्यक्रममा पूर्वसचिव तथा इन्स्टिच्युट फर अरर्वन रिसर्च स्टडिजमा अध्यक्ष किशोर थापाले उक्त संस्थाले घरजग्गा कारोबारमा ठूलो सुधार ल्याउने बताएका छन् । ‘विकसित देशहरूमा एमएलएस प्रणालीबाट घरजग्गा खरिद–बिक्री हुन्छ, जसले गर्दा क्रेता र बिक्रेता दुवै ठगिँदैनन् भने कुनै पनि स्थानको जग्गाको वास्तविक मूल्य थाहा हुन्छ,’ उनले भने, ‘यस संस्थाले नेपालमा पनि घरजग्गा कारोबारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा रोक्नुका साथै सरकारलाई समेत वास्तविक कारोबार मूल्य पत्ता लगाउन सहयोग पुग्नेछ ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि एन–रियोले घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउन सहयोग पुर्याउने बताए । नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपर्स एसोसिएसनका उपाध्यक्ष दीपक कुँवरले घरजग्गा कारोबारलाई सहजीकरण गर्न संस्थाले उल्लेख्य भूमिका निर्वाह गर्ने बताए । याे समाचार आजकाे नयां पत्रिकामा छ ।