नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने
इन्भेष्टाेपेपर । जेठ २६, २०७९
काठमाण्डाैँ । नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौताभए संगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्करुपमा प्रयोग गर्न सक्नेछन् । महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ ।
बैंकले सार्वजनिक प्रयोगकालागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिको लागि गरिएको हो।
नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्घता जनाएको बताए । “नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताकालागि सधैं सँगै अघि बढि रहन्छौं। नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौँको फोहोर मैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं ।,” उनले बताए।
महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पु¥याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए।
