बिदामा नेपाल गएकालाई कोरिया ल्याइने

इन्भेष्टोपेपर । वैशाख १६, २०७७ 

सिउल – कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ।

एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ। जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइनेछ।

विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो।

आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए।

जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी सङ्गठनहरूले नेपाल सरकारलाई अनुरोध गरेका थिए।

अनुरोध बमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो। निर्णयपश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान चार्टर्ड गर्ने सम्झौता गरेको हो।

यसरी फर्किने श्रमिकले टिकट वापत एक लाख १३ हजार ७ सय ७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनु पर्नेछ। कोरिया फर्केपछि अनिवार्य रूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नु पर्नेछ।

सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ।

कुनै समस्या वा जानकारी लिनुपर्ने भए एनआरएनए कोरियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि भनिएको छ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *