इन्भेस्टमेन्ट बैंक लिमिटेड द्वारा आफ्नै पेमेन्ट गेटवे आरम्भ
Investopaper, असाैज १२, २०७६
घटस्थापनाको शुभ अवसर पारेर नेपाल इभेस्टमेन्ट बैंक लिमिटेडले आफ्ना डेबिड/क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूका लागि सबैभन्दा सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नै पेमेन्ट गेटवे (Payment Gateway) आरम्भ गरेको छ ।
यो पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल, प्राप्तिकर्ता बैंक, कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय (रियल टाइम) मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्दछ ।
प्रयोगकर्ताहरूका लागि प्रणालीमाथि विश्वसनीयता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको छ । अब व्यापारिहरूले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्न सक्छन भने कार्डवाहकहरूले इकर्मश साइटहरूबाट सातै दिन चौबीसै घण्टा (२४/७) सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्ने बैंकले जनाएकाे छ ।
नेपाल इभेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो दक्षता चुस्तदुरुस्त, स्थिर तथा विश्वसनीय बनाउन याे पेमेन्ट गेटवे सेवा आरम्भ गरेको जनाएकाे छ । उक्त अवसरमा छानिएका बिक्रेताहरूमा लागू हुने गरी अनलाइन कारोवारमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) अफरकाे समेत घोषणा गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक ८२ शाखा, १२२ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकासन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।
