नेपाल प्रिमियर लिगः जनकपुर बोल्ट्स बन्याे च्याम्पियन

न्भेष्टाेपेपर । पुस ६, २०८१

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)द्वारा अायाेजित नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ । 

च्याम्पियन बन्न एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि मिलान्थाले सर्वाधिक ८७ रन बनाए । उलले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउन सफल भएका हुन ।

यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यानका साथै प्लेयर अफ दि म्याच समेत बने । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए ।

बलिङमा दूरपश्चिमका कुनै पनि खेलाडीले उल्लेखनीय भूमिका निर्वाह गर्न असमर्थ रहे । स्कट कुग्लेजिन, कप्तान दिपेन्द्रसिंह ऐरी, सईफ जैव र इशान पाण्डेले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सईफ जैवले ४३ बलमा आठ चौका र दुई छक्काको सहयोगमा ६९ रन बनाए । यस्तै विनोद भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको सहयोगमा ४१ रनकाे पारी खेले। पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको लामाे साझेदारी समेत निभाएका थिए ।

बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिन सफल भए ।

फाइनलमा जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । २० हजार दर्शकको साथ पाएको फाइनल खेलमा जनकपुरले आफुलाई बास्तविक उपाधिको हकदारको रुपमा उभ्यायो । 

आठ वटा फ्रेन्चाइज टोली सहभागिता रहेको एनपिएलमा प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *