६४ वर्षपछि सगरमाथाकाे उचाइ पुनः मापन हुंदै, नेपाली प्राविधिक टाेली परिचालन
Investopaper, चैत्र २७, २०७५
काठमाडाैं – विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए ।
चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।
सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ ।
उक्त तथ्यांकको अध्ययन विदेशमा नभई नापी विभागमा नै गरिने संयोजक डंगोलले बताए । उनले भने, ‘सगरमाथाको टुप्पोबाट र विभिन्न ८ स्थानबाट संकलित तथ्यांकलाई एकीकृत रूपमा अध्ययन गरिनेछ, यो अध्ययन हामी नापी विभागमा नै गर्नेछौं ।’
सगरमाथाको उचाइको अन्तिम रिपोर्ट सन् २०१९ को डिसेम्बरसम्म आउने संयोजक डंगोलले जनाए । उनले भने, ‘जतिसक्दो छिटो रिपोर्ट तयार पार्न खोज्छाैं, तर यो अलि जटिल प्रकारको अध्ययन हुने भएकाले डिसेम्बर अन्तिमसम्ममा ल्याइसक्नेछौं ।’
सगरमाथाको उचाइ मापनकै लागि भनेर चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्ययनको सुरुवात चरणदेखि अन्तिमसम्मको यो रकम पर्याप्त हुने नापी विभागको भनाइ छ । सगरमाथा आरोहण दलका लागि भने ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । याे समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेखेका छन् ।
