नेपाली सेनाद्वारा चीनबाट ६ अर्बभन्दा बढीको हतियार किन्ने तयारी

न्भेष्टाेपेपर । जेठ १०, २०८०

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने चीनबाट सैन्य सामग्री खरिद विषयमा आफूलाई जानकारी नभएको बताए। ‘नेपाली सेनाले सैन्य सामग्री खरिद गर्दै छ भन्नेबारेमा मलाई जानकारी छैन, म बुझेर खबर गरौंला,’ उनले भने।

सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ। जसका लागि दुई साताअघि प्रक्रिया अघि बढाइएको हो। कल्याणकारी कोषको पैसाबाट सेनाले भारतबाट पनि चारवटा एपिसी किन्ने भएको छ।

भारतको महिन्द्रा कम्पनीबाट चारवटा एपिसी खरिदका लागि कोटेसनसमेत लिइसकेको छ। भारतबाट ल्याउन लागिएका एपिसीको मूल्य एउटाको करिब चार करोड रूपैयाँ पर्छ भने चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ। (आजको नागरिक दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *