अब विदेशबाट नेपाली मोबाइलमार्फत कल गर्न सकिने रोमिङ सेवा सञ्चालन

वैशाख १६, २०७६

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । सुरुआतमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।

अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिए ।

हाल कायम महसुल दरः

‘चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० लाग्ने छ,’ प्रवक्ता वैद्यले भने।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३९७ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस ५४ र भारतबाट प्रति एसएमएस २४ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गरेका थिए ।

  • रासस
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *