खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

इन्भेष्टाेपेपर ।  असार २३, २०७९

वासिङ्गटन डिसी । नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा प्रस्तुत गर्नुभएको हो ।

राईले सम्बोधनको क्रममा भन्नुभयो, “हामी अन्तर्राष्ट्रिय समुदायले भ्याक्सिनको उपलब्धतामा विस्तार गरेको विषयलाई प्रशंसा गर्छौं । साथै भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सार्वजनिक वस्तुको रुपमा सहज पहुँच होस् भन्ने आह्वान गर्न चाहन्छौँ ।” राष्ट्रसङ्घीय अफिसियल डेभलपमेन्ट एसिस्टेन्स्अन्तर्गत विकसित देशले आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव सात प्रतिशत अल्पविकसित देशलाई प्रदान गर्नुपर्ने प्रतिबद्धतालाई पूरा गर्न अनुरोध गर्दै राईले अगाडि भन्नुभयो “हामी हाम्रा दातृ साझेदारलाई साझेदारीमा बढोत्तरी गर्न र प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौँ ।”

विभिन्न प्रतिवेदनमा यस वर्ष विश्वभर करिब १० करोड मानिस गरिबीको चरम सङ्कट झेल्न विवश हुने र त्यसमध्ये अधिकांश अल्पविकसित देशका हुने रिपोर्ट सार्वजनिक भएको छ । यसलाई चिन्ताको रुपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय फोरममा जोडका साथ उठाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायलाई खाद्य, इन्धन र जलवायु परिवर्तनको सङ्कटको सामना गर्न सहकार्य गर्दै अगाडि बढ्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि कार्यान्वयन गर्नुपर्ने विषयमा विगतमा भन्दा बढी सहकार्यको खाँचो रहेकोसमेत नेपालको धारणा रहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *