कटकुवा नगर अस्पताल वीरेन्द्रनगरमा डेढ करोडकाे लागतमा अक्सिजन प्लान्ट

इन्भेष्टोपेपर । पुष २९, २०७८

कर्णाली ।  वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।

दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भन्नुभयो, “प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सिलिन्डरमा भरिनेछ ।”

उहाँका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका १५० थान सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । उत्पादन क्षमता धेरै भएकाले यसले प्रदेशकै मेडिकल अक्सिजन अभाव टार्न मद्दत पुुग्ने अपेक्षा गरिएको छ । वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन हुँदा कोरोना सङ्क्रमणका गम्भीर बिरामीदेखि स्वासप्रस्वासमा समस्या भएकालाई उपचारमा निकै राहत हुने जनस्वास्थ्य निरीक्षक गिरीको भनाइ छ ।

यसैबीच प्रदेशका पाँच जिल्लाका अस्पतालले अझै प्लान्ट सञ्चालनमा ल्याउन सकेका छैनन् । प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्लान्ट जडानको प्रक्रिया अघि बढाइए पनि ती जिल्लामा प्लान्ट निर्माणको काम सम्पन्न हुन नसकेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले रुकुम पश्चिम, सल्यान, मुगु, डोल्पा र हुम्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान नभएको जनाएको छ । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा आठ जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला रु ४० लाखका दरले बजेट विनियोजन गरेको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *